काठमाडौं– रसुवामा बुधबार बिहान आएको भीषण बाढीमा गोरखाको पालुङटारबाट गोसाइँकुण्ड तीर्थयात्रामा गएको बस परेको छ। बसमा सवार ३८ जनामध्ये चार जना सम्पर्कमा आए पनि ३४ जना अझै सम्पर्कविहीन छन्।
पालुङटार नगरपालिका–४ र ५ का तीर्थयात्री लिएर गोसाइँकुण्डतर्फ गएको ग २ ख ११५२ नम्बरको बस रसुवाको तटीय क्षेत्रमा पुगेपछि सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी राजकुमार श्रेष्ठका अनुसार बाढी आएपछि चार जना बसबाट हाम फालेर सुरक्षित स्थानमा पुगेका थिए। उनीहरू सम्पर्कमा आए पनि बाँकी यात्रुको अवस्था खुलेको छैन।
गोसाइँकुण्ड यात्राका लागि पालुङटारबाट गएका दुई माइक्रोबसमा रहेका २६ जना यात्रु भने सम्पर्कमा रहेको प्रहरीले जनाएको छ।
पालुङटार नगरपालिकाले पनि यात्रुवाहक सवारीसाधन बाढीमा परेको बताएकाे थियाे। नगरपालिकाले केही तीर्थयात्री सम्पर्कमा आएको र केही सम्पर्कविहीन रहेको भन्दै उनीहरूको खोजी तथा उद्धारका लागि स्थानीय प्रशासन र सुरक्षा निकायसँग समन्वय भइरहेको जनाएको छ।
नगरपालिकाले तीर्थयात्रीका परिवारजन तथा आफन्तलाई धैर्य गर्न र अपुष्ट सूचना तथा हल्लाको पछि नलाग्न आग्रह गरेको छ।
बुधबार बिहान तिब्बततर्फबाट आएको ठूलो पानीको बहावसँगै भोटेकोशीमा आएको बाढीले रसुवाको सीमावर्ती तथा तटीय क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। बाढीले सडक, पुल, घर तथा अन्य भौतिक संरचनामा क्षति पुर्याएपछि त्यस क्षेत्रमा यातायात र सञ्चार सम्पर्कसमेत प्रभावित भएको छ। यसका कारण सम्पर्कविहीन यात्रुको अवस्था यकिन गर्न कठिनाइ भइरहेको छ।
प्रभावित क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खोजी तथा उद्धारमा परिचालन गरिएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तिब्बततर्फ हिमपहिरो वा अन्य आकस्मिक प्राकृतिक घटनापछि भोटेकोशीमा ठूलो पानीको बहाव आएको हुनसक्ने प्रारम्भिक आकलन गरेको छ। बाढीको वास्तविक कारणबारे भने थप अध्ययन भइरहेको छ।
यसैबीच, सरकारले बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रभावितको उद्धार, सुरक्षित स्थानान्तरण, स्वास्थ्य उपचार र राहतको व्यवस्था गर्न तथा अवरुद्ध सडक, विद्युत् र सञ्चार सेवा तत्काल सञ्चालन गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको छ।
प्रतिक्रिया