+
Search

ताजा अपडेट +

पपुलर +

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

पालिका लाइभ
२०८३ असार १९, शुक्रबार

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र मेसिन लर्निङ (एमएल) क्षेत्रमा नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘ग्लोबल आइएमई एआई/एमएल ह्याकाथन–२०२६’ शुक्रबारदेखि सुरु गरेको छ।

बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले एक समारोहबीच प्रतियोगिताको उद्घाटन गरेका हुन्।

बैंकले नेपालको बैंकिङ क्षेत्रमा अत्याधुनिक प्रविधिको प्रयोगलाई प्रवर्द्धन गर्ने उद्देश्यले गत वर्ष पहिलोपटक ह्याकाथन आयोजना गरेको थियो। यस वर्ष उक्त कार्यक्रमको दोस्रो संस्करण सञ्चालन गरिएको हो।

प्रविधिमा रुचि राख्ने विद्यार्थी, स्टार्टअप, डेभलपर, इन्जिनियर, डेटा वैज्ञानिक तथा अनुसन्धानकर्तालाई लक्षित गरी आयोजित प्रतियोगितामा खुला आवेदनमार्फत छनोट भएका १४ टोली सहभागी छन्।

बैंकका अनुसार दुई चरणमा सञ्चालन हुने आवासीय प्रतियोगिताको पहिलो चरणमा सहभागी टोलीले ३६ घण्टासम्म निरन्तर कोडिङ गर्नेछन् भने दोस्रो चरणमा अनसाइट ह्याकाथन आयोजना हुनेछ। प्रतियोगितामा सहभागी सबै टोलीका लागि आवासीय व्यवस्थासमेत गरिएको बैंकले जनाएको छ।

प्रतियोगिताका क्रममा सहभागीहरूले बैंकले निर्धारण गरेका विभिन्न विषयमा आधारित परियोजना प्रस्तुत गर्दै बैंकिङ सेवालाई अझ सुरक्षित, सहज र प्रविधिमैत्री बनाउने नवीन समाधान विकास गर्नेछन्।

उद्घाटन समारोहमा प्रमुख कार्यकारी अधिकृत रेग्मीले ह्याकाथनले डिजिटल बैंकिङका आगामी सम्भावना पहिचान गर्न तथा यस क्षेत्रमा देखिने चुनौतीहरूको समाधान खोज्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। उनका अनुसार उत्कृष्ट टोलीलाई नगद पुरस्कार प्रदान गरिनुका साथै बैंकसँग व्यावसायिक सहकार्य गर्ने अवसरसमेत उपलब्ध गराइनेछ।

ग्लोबल आइएमई बैंकले विगत केही वर्षयता विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गर्दै आएको छ। बैंकले ‘बैंक अफ द इयर–२०१४’, ‘बेस्ट इन्टरनेट बैंक–२०१६’ तथा सन् २०२४, २०२५ र २०२६ मा लगातार ‘बेस्ट बैंक नेपाल’को उपाधि प्राप्त गरेको जनाएको छ। साथै, ‘युरोमनी अवार्ड फर एक्सलेन्स’, ‘बेस्ट बैंक ईएसजी नेपाल–२०२४’ र ‘बेस्ट इम्प्लोयर’ लगायतका सम्मान पनि प्राप्त गरेको बैंकले उल्लेख गरेको छ।

हाल ग्लोबल आइएमई बैंकले देशका ७७ वटै जिल्लामा ३४४ शाखा, ३६८ एटीएम, १४७ शाखारहित बैंकिङ सेवा, ६९ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय सहित एक हजारभन्दा बढी सेवा केन्द्रमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ। साथै विभिन्न मुलुकबाट औपचारिक माध्यममार्फत विप्रेषण सेवा उपलब्ध गराउँदै आएको बैंकले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ