रौतहट– भारतीय सीमासँग जोडिएको बौधिमाई नगरपालिकाका मेयर प्रदीप यादव माथि फेरि गम्भीर दुर्व्यवहारको आरोप लागेको छ। नगरपालिकाभित्रै एक शिक्षकलाई घण्टौँ नियन्त्रणमा राखेर कुटपिट गरिएको आरोप सार्वजनिक भएपछि स्थानीय तहको कार्यशैलीमाथि प्रश्न उठेको छ।
शंकर गुदर माध्यमिक विद्यालय, सरमुजावामा कार्यरत शिक्षक रामबाबु यादवका अनुसार नगरपालिकाका लेखापाल र शिक्षा संयोजक रमेश यादवले शुक्रवार छलफलका लागि कार्यालयमा बोलाएका थिए। त्यसपछि मेयर प्रदीप यादव, वडाध्यक्ष विन्देश्वर यादव र कार्यपालिका सदस्य सुनिल जयसवालसहितको समूहले आफूलाई एउटा कोठाभित्र नियन्त्रणमा राखेर कुटपिट गरेको आरोप उनले लगाएका छन्।
पीडित शिक्षक यादवका अनुसार दिउँसो करिब २ः३० बजेदेखि राति ९ बजेसम्म आफूलाई कोठाभित्र थुनेर राखिएको थियो। सो अवधिभर गालीगलौज, धम्की, मानसिक यातना तथा निर्घात कुटपिट गरिएको र ज्यान मार्ने धम्कीसमेत दिइएको उनले बताएका छन्।
घटनापछि न्यायको खोजीमा प्रहरी प्रशासन पुगे पनि हालसम्म प्रभावकारी सुनुवाइ नभएको भन्दै उनले गुनासो गरेका छन्। घटना सार्वजनिक भइसकेपछि पनि ठोस कारबाही नभएको भन्दै स्थानीयवासीले आक्रोश व्यक्त गरेका छन्।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी विष्णु प्रदीप बस्यालले घटनाबारे लिखित निवेदन प्राप्त भएको जानकारी दिएका छन्। उनका अनुसार शिक्षक यादवको घाउ जाँचसम्बन्धी ‘केस फारम’ तयार गरिएको छ र घटनाबारे थप अनुसन्धान भइरहेको छ।
यता मेयर प्रदीप यादवले भने आफूमाथि लागेको कुटपिट तथा थुनछेकको आरोप अस्वीकार गरेका छन्। उनका अनुसार शिक्षक यादवले यसअघि सामाजिक सञ्जाल फेसबुकमार्फत ‘म्यादी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, म्यादी वडाध्यक्ष र म्यादी मेयरले नैतिकता भए पदबाट राजीनामा दिनुपर्छ’ भन्ने आशयको पोस्ट गरेका थिए।
सोही विषयमा नगरपालिकाले शिक्षक यादवसँग सात दिने लिखित स्पष्टीकरण माग गरेको थियो। तर स्पष्टीकरणको जवाफ नआएपछि कार्यपालिका बैठकमा बोलाएर सोधपुछ गरिएको मेयर यादवको दाबी छ। ‘हामीले नैतिकताको पाठ सिकाएका हौँ, थुनछेक वा कुटपिट गरेका छैनौँ,’ उनले बताएका छन्।
स्थानीयका अनुसार मेयर यादवमाथि यसअघि पनि कर्मचारीमाथि कुटपिट, सार्वजनिक दुर्व्यवहार, स्वास्थ्यकर्मीलाई शौचालयमा थुन्ने, शिक्षकलाई नियन्त्रणमा लिएर हातपात गर्ने, योजना प्रमुखलाई डोरीले बाँध्ने तथा कर्मचारीमाथि अभद्र व्यवहार गर्ने जस्ता आरोप लाग्दै आएका छन्।
केही दिनअघि मधेस प्रदेशकी शिक्षा मन्त्री रानी शर्मासँग पनि उनको विवाद भएको चर्चा चलेको थियो। मन्त्रालय परिसरमा भएको भनिएको उक्त विवादपछि प्रहरीको सहयोगमा उनलाई बाहिर निकालिएको विषय सामाजिक सञ्जालमा समेत चर्चामा आएको थियो।
बारम्बार यस्ता आरोप सार्वजनिक भइरहँदा पनि सम्बन्धित निकाय मौन बसेको भन्दै स्थानीयले प्रश्न उठाएका छन्। उनीहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न माग गरेका छन्।
प्रतिक्रिया