+
Search

ताजा अपडेट +

पपुलर +

हिमालयन रिलाई समस्याग्रस्त घोषणा गर्ने तयारी, जिम्मा बीमा प्राधिकरणको नियमन टोलीलाई!

पालिका लाइभ
२०८३ बैशाख ३, बिहीबार

काठमाडौं– सम्पत्ति शुद्धीकरण अनुसन्धानसँग जोडिएका घटनाक्रमपछि हिमालयन रि इन्स्योरेन्स कम्पनीमाथि नेपाल बीमा प्राधिकरणको निगरानी थप बढाएको छ। कम्पनीलाई ‘समस्याग्रस्त’ घोषणा गर्ने/नगर्ने विषयमा निर्णय लिन प्राधिकरणले विशेष नियमन टोली नै परिचालन गर्दै कम्पनीको उच्च व्यवस्थापनमाथि समेत कारबाही प्रक्रिया अघि बढाएको छ।

प्राधिकरणले बिहीबार कम्पनीको वित्तीय, सञ्चालन तथा सुशासन अवस्थाबारे विस्तृत अध्ययन गर्न नियमन टोली खटाएको हो। हालको अवस्थाबारे प्राप्त प्रतिवेदनका आधारमा कम्पनीलाई समस्याग्रस्त घोषणा गर्ने वा नगर्ने अन्तिम निर्णय हुने प्राधिकरणले जनाएको छ।

प्राधिकरण स्रोतका अनुसार विभागको छापा र पछिल्ला घटनाक्रमपछि कम्पनीको वास्तविक अवस्था मूल्याङ्कन गर्न तत्काल निरीक्षण टोली पठाइएको हो। ‘विभागको अनुसन्धान र छापापछि कम्पनीको विस्तृत अवस्था बुझ्न इन्सपेक्सन टोली खटाइएको हो,’ स्रोतले भन्यो, ‘टोलीले सञ्चालन, वित्तीय स्थिति र सुशासनका पक्षमा अध्ययन गरेर प्रतिवेदन बुझाएपछि आवश्यक निर्णय हुनेछ।’

बीमा ऐनअनुसार पुँजी, पुँजीकोष, वित्तीय सन्तुलन वा संस्थापक सेयरधनीमाथि ठगी, भ्रष्टाचार वा सम्पत्ति शुद्धीकरणजस्ता गम्भीर आरोप प्रमाणित भएमा बीमा कम्पनीलाई समस्याग्रस्त घोषणा गर्न सकिने व्यवस्था छ। सोही कानुनी आधारमा प्राधिकरणले आवश्यक प्रक्रिया अघि बढाउने तयारी गरेको हो।

यसैबीच, हिमालयन रि इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सहित पाँच उच्च व्यवस्थापकलाई प्राधिकरणले स्पष्टीकरण सोधेको छ। सीईओ उपासना पौडेलसहित डेपुटी सीईओ मुकेश कुमार कपुर, कार्यकारी निर्देशकहरू मनिश कुमार, शिशिर गैह्रे र सन्तोष केसीलाई ‘किन निलम्बन नगर्ने’ भन्ने प्रश्नसहित ७ दिने स्पष्टीकरण माग गरिएको स्रोतले जनाएको छ।

स्रोतका अनुसार कम्पनीको वित्तीय अवस्था कमजोर बन्दै गएको, सञ्चालक तथा संस्थापक सेयरधनीहरूको गतिविधि नियमनअनुसार नचलेको र निर्जीवन बीमा कम्पनीहरूको भुक्तानी समयमा नगरेकोजस्ता विषयमा गम्भीर प्रश्न उठेपछि स्पष्टीकरण मागिएको हो।

प्राधिकरणले तोकेको ७ दिनभित्र जवाफ नआएमा वा चित्तबुझ्दो नदेखिएमा बर्खास्तीसम्मको कारबाही अघि बढ्न सक्ने सम्भावना रहेको बताइएको छ।

गत मंगलबार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले दीपक भट्ट र उनका साझेदार सुलभ अग्रवालसँग सम्बन्धित स्थानहरू र कम्पनीको कार्यालयमा छापा मारेपछि प्रकरण थप गम्भीर बनेको हो। त्यसपछि कम्पनीको सेयर बजारमा समेत दबाब परेको देखिएको छ। भट्ट र अग्रवाल हाल प्रहरी हिरासतमा छन् भने पूर्वसञ्चालक साहिल अग्रवाल फरार सूचीमा छन्। यस्तै, कम्पनीका अध्यक्ष शेखर गोल्छाले एक महिनाअघि नै राजीनामा दिएका थिए।

राजीनामापछि कम्पनीको सञ्चालक समिति पुनर्गठन गरिएको छ। उदयकुमार निरौला अध्यक्ष बनेका छन् भने दीपेन्द्रकुमार मिश्र र पृथ्वीराज थापा सञ्चालकका रूपमा आएका छन्। यसैबीच, सीईओ उपासना पौडेलसमेत अनुसन्धानको दायरामा रहेको बताइएको छ।

प्राधिकरण स्रोतका अनुसार नियमन टोलीको प्रतिवेदनपछि कम्पनीको सञ्चालन निरन्तरता दिने वा समस्याग्रस्त घोषणा गर्दै व्यवस्थापन टेकओभर गर्ने भन्ने निर्णय हुनेछ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ