काठमाडौं– सरकारको पुँजीगत खर्च सुस्त देखिएको छ । चालु आर्थिक वर्षको पछिल्लो ९ महिनासम्मको अवधिमा सरकारको पुँजीगत खर्च २३ प्रतिशत मात्रै भएको हो ।
महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्क अनुसार चालू आवको साउनदेखि चैत मसान्तसम्म ९६ अर्ब १९ करोड ५१ लाख रुपैयाँ मात्र खर्च भएको छ । यो कुल लक्ष्यको जम्मा २३.५८ प्रतिशत मात्रै हो । यस शीर्षकमा ४ खर्ब ७ अर्ब ८८ करोड ८० लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।
गत आर्थिक वर्षको सोही अवधिको तुलनामा पनि यस वर्ष पुँजीगत खर्च न्यून देखिएको हो । अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा यस्तो खर्च ३२.२४ प्रतिशत भएको थियो ।
सरकारको चालु खर्च भने ६३ प्रतिशत नाघेको छ । चालू आर्थिक वर्षको चैत मसान्तसम्ममा चालु खर्च ७ खर्ब ४७ अर्ब ५२ करोड ४४ लाख रुपैयाँ भएको छ । जुन खर्च विनियोजनको ६३.३ प्रतिशत हो ।
त्यस्तै, सरकारले राजस्व संकलनमा वार्षिक लक्ष्यको झण्डै ६० प्रतिशत प्रगति हात पारेको छ । चैत्र मसान्तसम्म ८ खर्ब ८६ अर्ब २८ करोड ३६ लाख रुपैयाँ राजस्व संकलन भएको छ । यस्तो राजस्व कुल १४ खर्ब ८० अर्ब रुपैयाँ संकलन गर्ने सरकारको लक्ष्य थियो ।
कुल बजेट खर्चमा सरकारले हालसम्म १० खर्ब ५९ अर्ब ९५ करोड ७२ लाख रुपैयाँ खर्च गरेको छ । जुन ५३.९७ प्रतिशत रहेको महालेखा नियन्त्रक कार्यालयको तथ्यांकमा उल्लेख छ ।
प्रतिक्रिया