काठमाडौं– अर्थमन्त्री स्वर्णिम वाग्लेले सरकारले वर्तमान संविधानप्रति पूर्ण बफादार रहेको स्पष्ट पारेका छन् । अर्थ मन्त्रालयमा आयोजित अन्तर-सरकारी वित्त परिषद्को बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
बैठकमा अर्थमन्त्रीले भने, ‘अहिलेको संविधानप्रति हाम्रो सरकारको पूर्ण बफादार छ । संविधानलाई इमानदारीपूर्वक कार्यान्वयन गर्ने र यहाँभित्र चित्त नबुझेको कुरा संविधानमै लेखेका, उल्लेख गरिएका धाराहरूमा नै टेकेर सुधार गर्ने भन्ने पार्टीको घोषित नीति छ ।’
बजारमा संविधान नै परिवर्तन हुन सक्ने चर्चा चलिरहेका बेला मन्त्री वाग्लेले त्यस्तो कुनै योजना नभएको संकेत गर्दै संविधान संशोधनका लागि निर्धारित प्रक्रिया अनुसार नै अघि बढिने बताए ।
संविधान परिवर्तन हुने हल्लाप्रति टिप्पणी गर्दै उनले भने, ‘बजारमा संविधान नै फाल्छन् कि प्रचण्ड बहुमत छ भन्ने छ । धारा २७४ ले संविधान संशोधनको विधि तय गरिदिएको छ । धारा २७५ ले जनमत सङ्ग्रह लगायतका विषय बोलेको छ । यी दुइटा खुड्किलामै टेकेर हामी अगाडि जाने हो ।’
उनले वर्तमान संघीय संरचना, प्रदेशको व्यवस्था, स्थानीय तहको सङ्ख्या तथा क्षमतासम्बन्धी विषयमा पनि संविधानको दायराभन्दा बाहिर गएर कुनै कदम नचालिने प्रस्ट पारे ।
अर्थमन्त्री वाग्लेले भने, ‘अहिलेको संघीय ढाँचा, प्रादेशिक संरचना, स्थानीय सरकारहरूको सङ्ख्या, आकार, उनीहरूको ल्याकतका बारेमा पनि हामी संवैधानिक फ्रेमभन्दा बाहिर गएर हामी गर्दैनौँ ।’
प्रतिक्रिया