+
Search

ताजा अपडेट +

पपुलर +

चुमनुब्री गाउँपालिका ल्यायो ४६ करोडको बजेट

पालिका लाइभ
२०८३ असार १२, शुक्रबार

गोरखा– चुमनुब्री गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि करिब ४६ करोड रुपैयाँको बजेट ल्याएको छ।

बुधवार गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरुङले गाउँसभामा ४५ करोड ७९ लाख रुपैयाँको बजेट प्रस्तुत गरेकी हुन्। बजेटमध्ये २८ करोड ६७ लाख चालु र १६ करोड ११ लाख रुपैयाँ पुँजीगत खर्चतर्फ विनियोजन गरिएको छ।

संघ सरकारको समानीकरण अनुदानबाट ८ करोड ७७ लाख, राजस्व बाँडफाँटबाट १२ करोड ४४ लाख र सशर्त अनुदानबाट १२ करोड ३३ लाख रुपैयाँ प्राप्त हुने प्रक्षेपण गरिएको छ। प्रदेश सरकारबाट समानीकरणमा ८८ लाख, राजस्व बाँडफाँटमा १ करोड १ लाख, विशेषमा ४० लाख र समपूरकमा ६० लाख रुपैयाँ अनुदान प्राप्त हुने अनुमान गरिएको छ।

गाउँपालिकाले २ करोड १३ लाख रुपैयाँ आन्तरिक स्रोतबाट आम्दानी गर्ने लक्ष्य राखेको छ। चालु आर्थिक वर्षमा खर्च हुन नसकेको ७ करोड रुपैयाँ पनि आगामी वर्षको बजेटमा समावेश गरिएको छ।

आगामी वर्षका लागि पूर्वाधार विकास, पर्यटन प्रवर्द्धन, सुशासन तथा सामाजिक सुरक्षालाई प्रमुख प्राथमिकतामा राखिएको छ।

चुमनुब्री क्षेत्रको प्रमुख आधार रहेको पर्यटन उद्योगको विकासका लागि पदमार्गहरूको स्तरोन्नतिमा ४० लाख रुपैयाँ विनियोजन गरिएको छ। गाउँपालिकाको प्रशासनिक भवन निर्माणलाई निरन्तरता दिन १ करोड ५० लाख रुपैयाँ छुट्टाइएको छ।

विपद् व्यवस्थापनका लागि ३५ लाख रुपैयाँ, कृषकलाई उन्नत बिउबिजन, कृषि औजार र तालिम उपलब्ध गराउन ८ लाख रुपैयाँ, तथा उद्यमशीलता र रोजगारी सिर्जनाका लागि ५२ लाख रुपैयाँ बजेट विनियोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछानेले जानकारी दिए।

पालिकाले अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, एकल महिला तथा विपन्न वर्गलाई लक्षित गरी विभिन्न कल्याणकारी कार्यक्रम सञ्चालन गर्ने नीति लिएको जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ