+
Search

ताजा अपडेट +

पपुलर +

स्मार्ट टेलिकम प्रकरण :

एनसेल कार्यालयमा सिआइबीकाे छापा : स्मार्ट टेलिकमको फाइल लिएर फर्कियो

पालिका लाइभ
२०८३ जेष्ठ १, शुक्रबार

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको कार्यालयमा छापा मारेको छ।

स्मार्ट टेलिकमको उपकरण तथा सम्पत्ति खरिद प्रकरणमा अनुसन्धान गरिरहेको सिआइबीको टोली ललितपुरको नक्खुस्थित एनसेल कार्यालय पुगेको हो।

उच्च सुरक्षा स्रोतका अनुसार अनुसन्धान टोलीले कार्यालयमा पुगेर केही महत्त्वपूर्ण कागजात नियन्त्रणमा लिनुका साथै सचिनलाल श्रेष्ठ र भावना श्रेष्ठबारे समेत सोधपुछ गरेको छ। सिआइबी स्रोतले अनुसन्धान जारी रहेकाले विस्तृत विवरण सार्वजनिक गर्न नमिल्ने जनाएको छ। स्रोतका अनुसार हाल अनुसन्धान स्मार्ट टेलिकमको सम्पत्ति लिलामी प्रक्रिया, खरिद सम्झौता तथा त्यससँग सम्बन्धित आर्थिक कारोबार केन्द्रित छ।

एनसेलले पनि सिआइबीले स्मार्ट टेलिकमका उपकरण तथा टावर लिलामीसम्बन्धी कागजात माग गरेको र आवश्यक विवरण उपलब्ध गराइएको स्वीकार गरेको छ। कम्पनीका एक अधिकारीले जिम्मेवार कर्पोरेट संस्थाको रूपमा सरकारी निकायलाई आवश्यक सहयोग गरिरहेको बताएका छन्।

यसअघि यही प्रकरणमा सिआइबीले नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेसहित पलिना श्रेष्ठ र नरेन्द्र उलकलाई पक्राउ गरेको थियो। बैंकले स्मार्ट टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सर्वेश जोशीसँग असुल गर्नुपर्ने कर्जाको धितो सकार्न बोलपत्र आह्वान गरेको थियो।

उक्त बोलपत्र प्रक्रियामा ट्रान्सगेट टेक प्रालिले ४४ करोड ५० लाख रुपैयाँ, प्रोफेसनल बिजनेस नेटवर्क प्रालिले ४२ करोड ५० लाख रुपैयाँ र एनसेल आजियाटा लिमिटेडले चार अर्ब ६० करोड रुपैयाँको प्रस्ताव पेस गरेका थिए। बैंकले आफूले असुल गर्नुपर्ने तीन अर्ब ९५ करोड रुपैयाँभन्दा बढी प्रस्ताव गरेकाले एनसेलको बोलपत्र स्वीकृत गरेको थियो। त्यसपछि स्मार्ट टेलिकमका उपकरण तथा संरचना एनसेललाई चार अर्ब ६० करोड रुपैयाँमा बिक्री गरिएको थियो।

तर स्मार्ट टेलिकमले समयमै लाइसेन्स नवीकरण नगरेपछि कम्पनी सरकारको मातहतमा पुगेको थियो। त्यसपछि उक्त सम्पत्ति बिक्री प्रक्रियामाथि प्रश्न उठेपछि सिआइबीले अनुसन्धान अगाडि बढाएको हो। अनुसन्धानमा सरकारको स्वामित्वमा पुगेको सम्पत्ति बिक्री गरिएको आरोप केन्द्रमा रहेको बताइएको छ।

सिआइबी स्रोतका अनुसार दूरसञ्चार प्राधिकरणको पत्राचार र अनियमिततासम्बन्धी अध्ययन गर्न गठित कार्यदलको प्रतिवेदनका आधारमा अनुसन्धानलाई तीव्र बनाइएको हो। अनुसन्धानको दायरा स्मार्ट टेलिकम खरिद प्रक्रियामात्र नभई एनसेलको शेयर स्वामित्व हस्तान्तरण, वित्तीय कारोबार र अन्य विवादास्पद गतिविधिसम्म विस्तार भएको स्रोतको दाबी छ।

पछिल्लो घटनाले एनसेलमाथि विगतदेखि उठ्दै आएका कर विवाद, स्वामित्व परिवर्तन, शेयर कारोबार र वित्तीय पारदर्शितासम्बन्धी प्रश्नहरू फेरि चर्चामा ल्याएको छ।

दूरसञ्चार र वित्तीय क्षेत्रमा यस घटनाले व्यापक चासो र तरंग सिर्जना गरेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ