काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति प्रकाश पाण्डेलाई पक्राउ गरेको छ।
उनलाई सिन्धुलीको कमलामाई नगरपालिका–६ स्थित बसपार्क क्षेत्रबाट वैशाख २९ गते राति करिब ८ बजे पक्राउ गरिएको हो।
सीआईबीका प्रवक्ता एसएसपी शिवकुमार श्रेष्ठका अनुसार पक्राउपछि पाण्डेलाई थप अनुसन्धानका लागि काठमाडौं ल्याइएको छ। उनीमाथि स्मार्ट टेलिकमको सम्पत्ति गैरकानुनी रूपमा लिलामी गर्ने कार्यमा संलग्न रहेको आरोप छ।
काठमाडौंको रक्तकाली स्थायी ठेगाना भई ललितपुरको मानभवन बस्दै आएका ६३ वर्षीय पाण्डेविरुद्ध मुलुकी अपराध संहिताअन्तर्गत ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको सीआईबीले जनाएको छ।
यसअघि यही प्रकरणमा स्मार्ट टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सर्वेश जोशी पनि पक्राउ परिसकेका छन्। सीआईबीको टोलीले उनलाई सोमबार काठमाडौं महानगरपालिका–२ खुर्सानीटार क्षेत्रबाट नियन्त्रणमा लिएको थियो।
प्रहरीले स्मार्ट टेलिकमको सम्पत्ति व्यवस्थापन तथा स्वामित्व हस्तान्तरण प्रक्रियामा अनियमितता भएको आशंकामा अनुसन्धान अघि बढाएको जनाएको छ।
स्मार्ट टेलिकमले दूरसञ्चार सेवा सञ्चालन अनुमति नवीकरण नगरेपछि २०८० वैशाख ३ गतेदेखि कम्पनीको लाइसेन्स स्वतः खारेज भएको थियो। त्यसपछि कम्पनीको सम्पत्ति नेपाल दूरसञ्चार प्राधिकरणले नियन्त्रणमा लिएको थियो।
तर, कम्पनीको सम्पत्ति व्यवस्थापनका क्रममा सरकारको हितविपरीत बेइमानीपूर्वक सम्पत्ति हस्तान्तरण वा दुरुपयोग भएको आरोपमा सीआईबीले विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ।
लामो समयदेखि सेवा बन्द अवस्थामा रहेको स्मार्ट टेलिकम पछिल्लो समय वित्तीय अवस्था, सम्पत्ति व्यवस्थापन तथा स्वामित्व विवादका कारण निरन्तर चर्चामा रहँदै आएको छ।
प्रतिक्रिया