काठमाडौं– नेकपा एमालेकी सांसद रामकुमारी झाँक्रीले सरकारले निजी क्षेत्रलाई काम गर्ने वातावरण सिर्जना गर्नुको सट्टा भय र त्रास सिर्जना गर्ने काम गरेको आरोप लगाएकी छन् ।
राष्ट्रिय सभाको बिहीबारको बैठकमा उनले यस्तो बताएकी हुन् । उनले सरकारले निजी क्षेत्रलाई पहिले थुन्ने अनि सुन्ने काम गरेर आतंकित सिर्जना गरेको बताइन् ।
सरकारले अहिले काम गर्ने वातावरण सिर्जना गर्नुभन्दा मानिसरमा भय र त्रास सिर्जना गर्ने काम गरिरहेको बताइन् ।
उनले भनिन्, ‘यहाँ त निजी क्षेत्रलाई पहिले थुन्न अनि सुन्ने काम भएको छ । अहिले काम गर्ने वातावरण सिर्जना गर्नुभन्दा भय र त्रास सिर्जना गर्ने काम भइरहेको छ । यो काम गरिरहँदा उहाँहरूले कहाँ जान्छौँ भन्ने समेत थाहा पाउनुभएको छैन । यसले नयाँ बाटो दिँदैन ।’
उनले सरकारको अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई पुरानै कार्यक्रमहरूको निरन्तरता भएको टिप्पणी पनि गरिन् ।
उनले जनताले दिएको ठूलो जनमतको अवसरलाई सरकारले उपयोग गर्न नसकेको पनि बताइन् ।
उनले भनिन्, ‘सरकारको नीति तथा कार्यक्रम पुरानै कार्यक्रमको निरन्तरता हो । यसमा बुँदा घटाइएको छ । पुरानै कार्यक्रमहरू दोहोर्याएर खाँदेर लेखिएको छ । त्यसकारण यसमा कुनै कमेन्ट गरिरहनुपरेन । यति ठूलो जनमत पाएर आएको पार्टीले एकपटक सबै क्षेत्रमा डिपार्चर गर्ने मौका चाहिँ थियो । त्यो मौका नेपालको राजनीतिक इतिहासमा सबै पार्टीलाई जनताले एक न एक पटक दिएका छन् । तर हरेक पटक नेपाली जनताको परिवर्तन र रूपन्तरणको चाहाना परम्परागत कुराबाट कुण्ठित हुने कुरा देखिने भयो । यो नीति तथा कार्यक्रममा पनि यही कुरा देखिन्छ ।’
उनले सरकारले सुशासन र डेलिभरीमा जोड दिएको भन्दै नागरिक, राहदानी र जग्गाधनी पुर्जा बाढ्नु मात्रै डेलिभरी नहुने बताइन् ।
सबै वर्ग र समुदायको मानव अधिकार र मौलिक हकको सुनिश्चितता गर्न उनले आग्रह गरिन् ।
प्रतिक्रिया