+
Search

ताजा अपडेट +

पपुलर +

स्थलमार्गबाट आउने पर्यटक सवारीसाधन अब अनलाइनबाटै दर्ता

पालिका लाइभ
२०८३ बैशाख २३, बुधबार

काठमाडौं– सरकारले भारतीय पर्यटक तथा भारत भएर नेपाल भित्रिने अन्य देशका पर्यटकलाई सहजीकरण गर्न अनलाइन सेवा सुरु गरेको छ ।

अर्थ मन्त्रालय मातहत भन्सार विभागले स्थलमार्ग भएर नेपाल भित्रिने विदेशी सवारीसाधनले अनलाइनबाटै विवरण भर्न र राजस्व तिर्न सक्ने प्रणाली विकास गरेर सञ्चालनमा ल्याएको हो ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त प्रणाली सुरुवात गरे । नयाँ प्रणाली सञ्चालनमा आएसँगै अब नेपालमा सवारीसाधन लिएर भित्रिने भारतीय तथा तेस्रो मुलुकका पर्यटकले अनलाइनबाटै आफ्नो विवरण र राजस्व तिर्न सक्नेछन् ।

यसअघि भन्सार नाकामा आएर यस्ता सवारीसाधनले भौतिक रूपमा अस्थायी इजाजत लिनुपर्ने व्यवस्था थियो । नेपाल यात्राकै क्रममा यात्रा अवधि सकिए नवीकरणका लागि भन्सार नाकामै पुग्नुपर्ने वा जरिबाना तिर्नुपर्ने अवस्था थियो ।

तर, नयाँ अनलाइन प्रणाली सुरु भएसँगै अब नेपाल भित्रिने पर्यटकले आफ्ना सवारीसाधनको इजाजतपत्र घरैबाट अनलाइन मार्फत भरेर अनलाइनबाटै पैसा तिरेर विनाझन्झट घुम्न आउन सक्छन् ।

नयाँ अनलाइन सहजीकरण सेवा सुरु गर्दै अर्थमन्त्री वाग्लेले सीमा क्षेत्रमा पर्यटकले पाउने सास्ती अब हट्ने बताए ।

‘सरकारले अनुशरण गरेको सुशासन र छरितो गुणस्तरीय सार्वजनिक सेवा दिने घोषणा कार्यान्वयन क्रममा यो कार्य सुरु गरिएको हो,’ उनले भने, ‘पर्यटकलाई कुनै कठिनाइ नहोस्, सरकारी सेवा छिटो र छरितो होस् भन्ने हामी चाहन्छौँ ।’

विभागका महानिर्देशक श्यामप्रसाद मैनालीले नेपाल भित्रिने पर्यटक बोकेका विदेशी सवारीसाधनको इजाजत अब डिजिटल भएको बताए ।

उनका अनुसार अब नेपाल प्रवेश गर्ने यात्रु तथा पर्यटकले प्रयोग गर्ने विदेशी सवारीसाधन सम्बन्धी विवरण अनलाइनमै स्वयं घोषणा गर्न सकिने छ । जसले प्रक्रिया थप पारदर्शी र प्रभावकारी बनाउने छ ।

नेपाल सरकारलाई तिर्ने राजस्व पनि त्यस्ता पर्यटकवाहक सवारीले अनलाइनबाटै वा बैंक काउन्टरबाट तिर्न सक्छन् । अनलाइनबाट पैसा तिरेका गाडीले भन्सारमा आफ्नो इमेलमा प्राप्त क्यूआर कोड देखाएरै नेपाल छिर्न सक्ने उनको भनाइ छ ।

यसरी प्राप्त हुने क्यूआर बोकेर पर्यटकवाहक सवारी आफ्नो गन्तव्यमा पुग्न सक्ने विभागले जनाएको छ ।

विभागका अनुसार यस्ता सवारीसाधनले आफ्नो यात्रा अवधि सकिएको खण्डमा पनि आफू रहेको नेपालस्थित ठेगानाबाट अनलाइन मार्फत नै यात्रा अवधि थप गर्न सक्नेछन् । यो सबै सेवा लिन भन्सार विभागको वेबसाइटमा गएर हाम्रा सेवाहरू शीर्षकमा रहेको टीआईभी शीर्षकमा क्लिक गर्नुपर्छ र त्यसबाट भित्र रहेको विवरण अनलाइनबाट भर्न सकिन्छ ।

सबै विवरण अद्यावधिक गरिसकेपछि अन्तिममा ग्राहकलाई विवरण सबै खुल्ने क्यूआरकोड प्राप्त हुन्छ । त्यसका आधारमा आफूले तिर्नुपर्ने शुल्क तिरेर सवारीसाधन नेपाल भित्रिन सक्छन् । नेपालभरिका सडकमा त्यस्ता सवारीले सोही क्यूआर कोड देखाएर यात्रा गर्न पाउँछन् ।

विभागका अनुसार नेपाल राष्ट्रिय एकद्वार प्रणाली मार्फत नेपाल भित्रिने विदेशी नागरिकलाई सहजता प्रदान गर्न अस्थायी सवारी आयात (टीआईभी) मोड्युल विकास गरिएको हो ।

तत्कालका लागि यो सेवा नेपाल भित्रिने भारतीय तथा तेस्रो देशका पर्यटकले प्रयोग गर्ने सवारीसाधनका लागि लागु गरिएको भन्सार विभागले स्पष्ट पारेको छ ।

हाललाई चिनियाँ नाका भएर स्थलमार्गबाट चिनियाँ सवारीसाधन सहित पर्यटक आउने नगरेको र आएको खण्डमा उनीहरूका हकमा पनि यो सेवा रहेको विभागले जनाएको छ ।

तत्कालका लागि यो सेवाबाट भारत र बंगलादेशका पर्यटक लाभान्वित हुने विश्वास विभागको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ