+
Search

ताजा अपडेट +

पपुलर +

कांग्रेस-रास्वपासँग असन्तुष्ट बनेका बाबुरामले अन्ततः प्रलोपाकै लागि मागे भोट

फाइल तस्बिर
पालिका लाइभ
२०८२ फाल्गुन १८, सोमबार

काठमाडौं- पूर्वप्रधानमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का संरक्षक डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग दूरी बनाएका छन् । आज लाइभ भिडिओ वक्तव्य जारी गर्दै उनले रास्वपाप्रति घुमाउरो असन्तुष्टि प्रकट गरे ।

यसअघि भट्टराई रास्वपासित नजिकिएका थिए र चुनावमा सघाउने सम्मको भद्र सहमति बनेको थियो । तर पछिल्लो समयमा रास्वपाले आफूलाई महत्त्व नदिएको ठानेर उनी चिढिएका हुन् ।

भट्टराईको दल प्रलोपाले गोरखाका दुवै निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसको उम्मेदवारलाई समर्थन गरेपछि रास्वपासँग उनको सम्बन्ध बिग्रिएको आंकलन गरिएको थियो । यसअघि रास्वपाको घोषणापत्रको तारिफ गरेका भट्टराईले आजको वक्तव्यमा भने प्रलोपालाई नै भोट मागे ।

भट्टराईले भने, ‘प्रगतिशील लोकतान्त्रिक पार्टीप्रति मेरो भावनात्मक लगाव छ । यसलाई म लुकाउन चाहन्न । म आफैँले १० वर्ष मिहिनेत गरेर, बुद्धि विवेक प्रयोग गरेर प्रलोपाको संरचना बनेको छ । यद्यपि, अहिले यो उदीयमान अवस्थामै छ । यसको घोषणापत्रमा पनि मैले केही योगदान गरेको छु । पार्टीको चुनाव चिन्ह एउटा खुलेको आँखा छ । प्रलोपाका प्रत्यक्ष र समानुपातिक उम्मेदवारहरूलाई विशेष स्नेहका साथ मतदाताले साथ दिनुहुने छ भन्ने विश्वास गरेको छु । विचारसहितको विकल्पका रूपमा आएको यो पार्टी एउटा राष्ट्रिय शक्तिको रूपमा उदय भयो भने पुराना र नयाँसँग सहकार्य गरेर अघि बढ्ने छ ।’

आफ्नो सम्बोधनमा रास्वपाको नाम नलिईकन उनले विचार भन्दा व्यक्तिलाई मात्र अघि सारिएको भन्दै असन्तुष्टि जनाए ।

रास्वपालाई ईंगित गर्दै उनले भने, ‘अन्य नयाँ पार्टीहरूप्रति पनि मेरो सद्भाव रहन्छ । तर नयाँ भन्ने, अनि व्यक्तिलाई मात्र अगाडि सारेर विचार, नीति, कार्यक्रमलाई ओझेलमा पार्ने प्रवृत्तिप्रति म चिन्तित छु । विचारसहित विकल्पका रूपमा नयाँ वैकल्पिक शक्तिहरूलाई अघि बढाउनुपर्छ । बाढी आएको बेलामा भेल छोपेर खेतबारीमा लगाउनु ठिक हो । तर दिगो खेतीपातीका लागि कुलो, नहर खनेर पानी लगाउनु पर्छ । भेल छोपेर एउटा बाली लगाउन सकिन्छ । वैचारिक ढंगले जाँदा नहर बनाउन सकेनौँ भने त्यो वैकल्पिक शक्ति लामो समय नरहन सक्छ । त्यसतर्फ ध्यान पुगोस् ।’

भट्टराईले विवेक पुर्‍याएर मतदान गर्न आग्रह गरे ।

नयाँ र पुरानो भन्ने विवादमा नजाने उनले बताए । आफू अब अभिभावकको रूपमा भूमिका निर्वाह गर्ने उनले दोहोर्‍याएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ