+
Search

ताजा अपडेट +

पपुलर +

नयाँ पार्टीहरुको कुनै गन्तब्य छैन, कहाँ पुग्ने हो थाहा छैन : केपी ओली

पालिका लाइभ
२०८२ माघ १०, शनिबार

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले कुनै गन्तव्यबिनाको यात्रा गर्ने पार्टी नभएको स्पष्ट पारेका छन् ।

एक कार्यक्रममा बोल्दै ओलीले एमाले स्पष्ट उद्देश्य र गन्तव्य बोकेको पार्टी भएको बताए ।

उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’ राष्ट्रिय आकांक्षालाई एमालेले आफ्नो मुख्य गन्तव्य बनाएको उल्लेख गर्दै भने, ‘नेपाल समृद्ध हुनुपर्दछ र नेपाली जनता सुखी हुनुपर्दछ भन्ने राष्ट्रिय आकांक्षाको विरोध जसले गरे पनि यो हाम्रो साझा लक्ष्य हो । त्यसैले हामीले आफ्नो गन्तव्य ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाएका छौं ।’

ओलीले देशको रक्षा, जनताको सफल भविष्य र सन्ततिका उज्वल भविष्यका लागि धेरै नागरिक एमालेमा प्रवेश गरेको उल्लेख गरे ।

उनले एमाले अरू पार्टीजस्तो उद्देश्यहीन नभएको दाबी गर्दै भने, ‘एमाले ट्रेडमिलमा यात्रा गरेजस्तो गर्ने पार्टी होइन । गन्तव्यमा पुग्नका लागि यात्रा गर्ने पार्टी हो ।’

अन्य केही राजनीतिक दलतर्फ संकेत गर्दै ओलीले गन्तव्यविहीन राजनीति भइरहेको टिप्पणी गरे ।

उनले नयाँ पार्टीहरुलाई नारायण गोपालको गीत ‘भोली उठी कहाँ जाने केही थाहा छैन, फर्की आउने हो की होइन केही थाहा छैन ।’ भन्दै व्यंग गरे ।

उनले भने, ‘अहिले नयाँका नाममा आएका धेरै पार्टीहरूको गन्तव्य छैन । कहाँ पुग्ने भन्ने थाहा छैन । केका लागि कुदिएको हो, केका लागि काम गरिएको हो भन्ने पनि स्पष्ट छैन । नारायण गोपालले होला गाएको भोलि उठी कहाँ जाने केही थाहा छैन, फर्की आउने हो की होइन केही थाहा छैन। उहाँहरुको यात्रा त्यस्तै हो भोलि उठी कहाँ जाने त्यो पनि थाहा छैन, के को लागि अरुको चरित्र हत्या गरेको त्यो पनि थाहा छैन । के का लागि काम गर्दैछु त्यो पनि थाहा छैन । त्यस्तो पार्टी होइन एमाले ।’

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ