+
Search

ताजा अपडेट +

पपुलर +

१४ उपसचिवको सरुवा: मालपोतबाट सामान्यको जगेडामा रहेका भट्टराई र घिमिरे पुगे जिसस

पालिका लाइभ
२०८२ पुष २८, सोमबार

काठमाडौं– सरकारले १४ जना उपसचिवको सरुवा गरेको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको सरुवा सूचीअनुसार मालपोत कार्यालयबाट सामान्य प्रशासन मन्त्रालयको जगेडामा तानिएका उपसचिव अशोक कुमार भट्टराई र माधव घिमिरे जिल्ला समन्वय समितिमा पुगेका छन्।

भक्तपुर मालपोत कार्यालयबाट हालै सामान्य प्रशासन मन्त्रालयमा तानिएका घिमिरेलाई जिल्ला समन्वय समिति (जिसस) सङ्खुवासभामा र ललितपुर मालपोत कार्यालयबाट सामान्यमा ल्याइएका भट्टराईलाई जिसस भोजपुरमा खटाइएको छ।

त्यस्तै, गल्याङ नगरपालिका, स्याङ्जाबाट भविश्वर घिमिरे गृह मन्त्रालयमा सरुवा भएका छन्। मन्त्रालयको अतिरिक्त समूहमा रहेका प्रवीण ढकाललाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकी प्रदेशबाट जिल्ला समन्वय समिति स्याङ्जामा पठाइएको छ।

सरुवा सूचीअनुसार, राष्ट्रिय तथ्यांक कार्यालयमा कार्यरत कमला पौडेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा, उद्योग मन्त्रालयबाट जुनु हमाल ढकाललाई गृह मन्त्रालयमा, परराष्ट्र मन्त्रालयबाट दुर्गा भुसाललाई उद्योग मन्त्रालयमा सरुवा गरिएको छ।

यसैगरी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत कला कुमारी गैह्रेलाई सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा र सामान्य प्रशासन मन्त्रालयको बरण्डामा रहेका वासुदेव खनाललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा खटाइएको छ।

सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका प्रकाश देवकोटालाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा सरुवा गरिएको छ। साथै, बहुदरमाई नगरपालिकाबाट सिकिन्द्र साहलाई सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा तानिएको छ।

अन्य सरुवाअनुसार, वराहक्षेत्र नगरपालिकाबाट मनोज ठाकुरलाई जिसस सुनसरीमा, सिद्धिचरण नगरपालिकाबाट किसान न्यौपानेलाई लोक सेवा आयोगमा तथा गुजारा नगरपालिकाबाट शान्ति विकलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बागमती प्रदेशमा सरुवा गरिएको छ।

यसबीच, भट्टराई र घिमिरेलाई दुर्गम जिल्ला समन्वय समितिमा खटाउने निर्णय भूमि मन्त्रीकै निर्देशनमा भएको बताइएको छ। सो निर्णयविरुद्ध दुवै उपसचिवले सरुवा बदरको माग राख्दै हालै प्रशासकीय अदालतमा रिट दायर गरेको स्रोतले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ