+
Search

ताजा अपडेट +

पपुलर +

बलानबिहुल गाउँपालिकाका तत्कालीन अध्यक्षविरुद्ध ९ करोडको भ्रष्टाचार मुद्दा

पालिका लाइभ
२०८२ पुष ६, आईतवार

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको बलानबिहुल गाउँपालिकाका तत्कालीन अध्यक्ष दयानन्द गोइतसहित पाँचजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

उनीहरूले आठ करोड ९८ लाख २१ हजार ४९६ रुपैयाँ भ्रष्टाचार गरेको आरोप लगाउँदै अख्तियारले विशेष अदालत काठमाडौंमा आइतबार मुद्दा दायर गरेको हो ।

गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत मोहम्मद नसिम राइन, लेखापाल कमलेसकुमार साह र तत्कालीन सब-इन्जिनियर सन्तोष कुमार रजक, डाक्नेश्वरी–९ स्थित ओम गणेशाय कन्स्ट्रक्सन र उक्त कम्पनीका म्यानेजिङ डाइरेक्टर राजीवकुमार साहविरुद्ध मुद्दा दायर गरेको भएको अख्तियारले जनाएको छ ।

गाउँपालिकाका कर्मचारीहरू समेतको मिलेमतोमा गलत बोलपत्र मूल्यांकन गरी राज्यलाई हानिनोक्सानी गरेको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान सुरु गरेको थियो ।

सोही उजुरीका आधारमा अनुसन्धान हुँदा उनीहरूले गाउँपालिका-६ सेहरास्थित जागेश्वर गरहाई जनता माविको नमुना विद्यालय भवन निर्माण गर्दा आठ करोड ९८ लाख २१ हजार ४९६ रुपैयाँ अनियमितता गरेको पाइएको अख्तियारले जनाएको छ ।

दायर गरिएको मुद्दामा जनही आठ करोड ९८ लाख २१ हजार ४९६ रुपैयाँ बिगो माग गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ