+
Search

ताजा अपडेट +

पपुलर +

वित्तीय अनुशासन उल्लंघन :

निर्देशनविपरीत सुविधा वृद्धि र कर्जा अनियमितता, सिटिजन्स बैंकमाथि राष्ट्र बैंकको कारबाही

पालिका लाइभ
२०८२ श्रावण ९, शुक्रबार

काठमाडौं– बैंकिङ निर्देशिका र नियमनको अवहेलना गरेको भन्दै नेपाल राष्ट्र बैंकले सिटिजन्स बैंक इन्टरनेसनलमाथि कारबाही गरेको छ।

बैंकले प्रमुख कार्यकारी अधिकृतको सुविधा निर्देशनविपरीत बढाएको, कर्जा व्यवस्थापनमा गम्भीर त्रुटि गरेको र वित्तीय रिपोर्टिङमा अनियमितता देखाएको भन्दै राष्ट्र बैंकले बैंकको सञ्चालक समितिलाई सचेत गराउनुका साथै प्रमुख कार्यकारी अधिकृतलाई औपचारिक रूपमा चेतावनी दिएको हो।

राष्ट्र बैंकका अनुसार सिटिजन्स बैंकले ‘सिटिजन्स फास्ट ट्रयाक लोन’ अन्तर्गत दिइएका कर्जाहरूको सदुपयोगको विषयमा आन्तरिक लेखापरीक्षण गराउन निर्देशन दिइएको थियो, तर त्यो निर्देशनको पालना भएको नपाएपछि राष्ट्र बैंकले कारबाही गरेको हो।

बैंकले यस कार्यक्रमअन्तर्गत कर्जा प्रवाह गरे पनि त्यसको औचित्य र प्रयोगको सम्बन्धमा स्वीकृत परीक्षण प्रक्रिया नअपनाएको राष्ट्र बैंकको ठहर छ।

त्यस्तै, बैंकले ब्याजदर अन्तरको गणना गलत ढंगबाट गरेको, नयाँ कर्जा प्रवाह गरी पुराना कर्जा र ब्याजको समायोजन गरेको र दाबी गरिएका बैंक जमानतपत्रहरूको भुक्तानी राष्ट्र बैंकको तोकिएको समयभित्र नगरेको पाइएको छ। यस्ता कार्यहरू राष्ट्र बैंकको एकीकृत निर्देशन र आन्तरिक जोखिम व्यवस्थापन प्रणालीको गम्भीर उल्लंघन मानिएको छ।

सिटिजन्स बैंकले लामो समयदेखि अस्थायी रूपमा म्याद थपिएका कर्जाहरूको व्यवस्थापन गर्दा ‘एजिङ वाइज’ कर्जा नोक्सानीको प्रावधान पालना नगरेको समेत पाइएको छ। चालु पुँजी सम्बन्धी राष्ट्र बैंकको मार्गदर्शन पूर्णरूपमा कार्यान्वयन नगरेको र कर्जा प्रवाहको गलत रिपोर्टिङ गरिएको विवरण पनि निरीक्षणमा खुलेको छ।

बैंकका प्रमुख कार्यकारी अधिकृतसँग गरिएको करार सम्झौतामा राष्ट्र बैंकबाट पूर्व स्वीकृति नलिई सुविधा वृद्धि गरिएको देखिएकोले बैंकको उच्च व्यवस्थापन तहमै वित्तीय अनुशासनको अभाव देखिएको जनाइएको छ।

राष्ट्र बैंकले यस्तो कार्यले बैंकिङ क्षेत्रको पारदर्शिता र संस्थागत उत्तरदायित्वमाथि प्रश्न उठाउने चेतावनी दिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ