+
Search

ताजा अपडेट +

पपुलर +

‘गोरखा घर काठमाडाैं डेरा’: आफ्नै जन्मभूमिको प्रचारमा रबिन र निर्जला..

इमानजङ्ग बानियाँ
२०८२ जेष्ठ १८, आईतवार

गोरखा– गोरखाको सौन्दर्य, संस्कृति र भावनात्मक सम्बन्धलाई समेट्दै गायक तथा गीतकार रविन लामिछानेले नयाँ गीत ‘गोरखा घर काठमाडौँ डेरा’ सार्वजनिक गरेका छन्।

गीतमा शब्द, संगीत र स्वर तीनै पक्षमा रविन लामिछानेको योगदान रहेको छ भने उनलाई गोर्खाकी चर्चित गायिका निर्जला गुरुङले साथ दिएकी छन्। यो गीत केही दिन अघि मात्र निर्जला रोधी घर युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो र छोटो समयमै टिकटकदेखि युट्युबसम्म भाइरल भइरहेको छ।

गोर्खाली दोहोरी गायनको सशक्त पहिचान बनाएका रविन लामिछाने प्रत्यक्ष दोहोरी गायकका रूपमा चर्चित छन्। तर यसपटक उनले गायनको सीमाभन्दा पर गएर गोरखा जिल्लाको सांस्कृतिक, ऐतिहासिक र पर्यटकीय पक्षको प्रचारप्रसारलाई आफ्नो सिर्जनाको मूल विषय बनाएका छन्। गीतको नाम जस्तै, यसले गाउँ र सहरको दोधारमा बाँचेको नेपाली युवाको यथार्थलाई भावुक ढंगमा प्रस्तुत गर्छ-  ‘गोरखा घर, काठमाडौँ डेरा’ भन्ने उक्तिले आजको पुस्ताको अवस्थालाई प्रस्ट्याउँछ।

गाउँमा जन्मिएर हुर्किने, शिक्षा र रोजगारीको खोजीमा सहर पसेर डेरामा बस्नुपर्ने बाध्यतालाई गीतले भावनात्मक रूपमा चित्रण गरेको छ। यही जीवनको कथा आजका हजारौँ गोर्खालीको साझा अनुभव बनेको छ। यही कारणले पनि गीत दर्शक र श्रोताको मन छुने शैलीमा प्रस्तुत भएको देखिन्छ।

गीतको संगीत संयोजन कृष्ण लामिछानेले गरेका छन् भने मारुनी रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो। भिडियो निर्माण पक्ष पनि उत्तिकै आकर्षक छ। पछिल्लो समय मौलिक गीतमा आफ्नो निर्देशनद्वारा फरक पहिचान बनाएका निर्देशक दीप गुरुङले निर्देशन र कोरियोग्राफी गरेका भिडियोमा आनन्द गुरुङ, लक्ष्मी गुरुङ, मनोज गुरुङ र मिरा गुरुङको अभिनय देख्न सकिन्छ।

विजय लामिछानेको छायाङ्कन र पदम सुवेदीको सम्पादनले भिडियोको गुणस्तरमा थप उचाइ थपेको छ। विशेष कुरा के छ भने भिडियोमा देखिने अधिकांश कलाकारहरू पनि गोरखाली नै हुन्, जसले गीतको आत्मीयता अझ प्रगाढ बनाएको छ।

गीतको सार्वजनिकतासँगै गायक लामिछानेले दर्शक श्रोताबाट अत्यधिक माया र समर्थन प्राप्त गरिरहेको बताएका छन्। उनका अनुसार यो गीतले गोरखा जिल्लाको भूगोल, धार्मिक महत्त्व, पर्यटकीय सम्भावना र ऐतिहासिक सम्पदालाई गीतमार्फत उजागर गर्ने प्रयास गरेको छ। उनी भन्छन्, ‘दर्शक श्रोताबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छु। यसपालि आफ्नै जिल्लासँग नजिकिएर त्यसका महत्त्वपूर्ण पक्षहरूलाई गीतमा समेट्न पाउँदा गर्व महसुस गरेको छु।’

गीतप्रति गोरखालीहरूले गरेको प्रतिक्रियाले गायकको भावनात्मक पक्षलाई झन् उजागर गरेको छ। धेरैले उनलाई फोन र म्यासेजमार्फत शुभकामना दिएका छन्, कतिले त यो गीतको आधारमा टिकटक बनाउँदै गोरखाका रमणीय, ऐतिहासिक र धार्मिक स्थलहरूलाई विश्वसामु चिनाउने काम गरिरहेका छन्। रविनले अझै धेरैलाई टिकटक बनाएर सहयोग गरिदिन समेत आह्वान गरेका छन्।

लामिछानेको यसअघि सार्वजनिक भएको अर्को गीत ‘युके बेलायत’ पनि अहिले चर्चाको शिखरमा छ। यो गीतले पनि नेपाली प्रवासीहरूको जीवन र भावनालाई उजागर गरेको छ। यस्ता गीतहरूले रविनको सिर्जनात्मकता र सामाजिक जिम्मेवारीलाई उजागर गर्ने गरेका छन्।

‘गोरखा घर काठमाडौँ डेरा’ केवल गीत मात्र होइन, यो गोरखाली जनताको मनको आवाज हो। यसले आजका नेपाली युवाको सपना, पीडा र पहिचानलाई सशक्त ढंगले प्रस्तुत गरेको छ। गोरखा जिल्लाको प्रवर्द्धनमा सांगीतिक माध्यमबाट गरिएको यस्तो प्रयासले स्थानीय पर्यटन, संस्कृति र पहिचानलाई बलियो बनाउने अपेक्षा गर्न सकिन्छ।

प्रतिक्रिया

लेखकको बारेमा

इमानजङ्ग बानियाँ