+
Search

ताजा अपडेट +

पपुलर +

लिवाङबाट प्रचण्डको अपिल- बहुमत दिनुस्, जीवनको उत्तरार्धमा भएपनि नयाँ अभियान थाल्छु

पालिका लाइभ
२०८२ फाल्गुन १६, शनिबार

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ जीवनको उत्तरार्द्धमा समाजवादी नेपाल निर्माण गर्ने सपना देखेको सुनाउँदै सहयोग गर्न आग्रह गरेका छन्।

शनिबार रोल्पाको लिवाङमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै संयोजक प्रचण्डले क्रान्तिकार आधार इलाकाबाट सपना देखेको बताए। ‘मैले धेरै सपना देखेको छु, हाम्रो क्रान्तिको आधार इलाकाबाट,’ प्रचण्डले भने।

त्यसमध्ये समाजवादी नेपाल निर्माण गर्ने आफ्नो सपना रहेको उनले बताए। त्यही सपना पूरा गर्न मैदानमा उत्रिएको उनको भनाइ थियो।

‘एउटा साच्चै समाजवादी नेपाल निर्माण गर्ने संकल्पका साथ एकचोटी फेरि हामी मैदानमा उत्रिएका छौँ,’ प्रचण्डले भने, ‘यो पटक हामी हतियार लिएर मैदानमा उत्रिएका छैनौँ, हामीले मतपत्र लिएर तपाईहरूको मतपत्रको तागतमा सिंहदरबारमा गएर फेरि एकचोटी नयाँ समाजवादी अभियान चलाउने संकल्प लिएर तपाईहरूको साथमा आएका छौँ। पक्कै पनि तपाईहरूले रिकर्ड बनाउनुहुनेछ।’

माओवादीको आधार इलाकाबाट सपना पूरा गर्ने शक्ति प्राप्त गरेको उनको भनाइ थियो। ‘मेरो यो सपना, जीवनको उत्तरार्द्धमा एकचोटी फेरि नयाँ अभियानका लागि तपाईहरूबाट तागत लिएर, तपाईहरूबाट शक्ति प्राप्त गरेर देशव्यापी अभियानमा छु,’ उनले भने।

अहिले देश संकटमा रहेको उनको जिकिर थियो। देशलाई संकटबाट निकाल्ने शक्ति नेकपा मात्रै भएको उनको भनाइ थियो। ‘नेपाल

कम्युनिस्ट पार्टी मात्रै यो देशको एकता बचाउन प्रतिबद्ध, संकल्पबद्ध र धेरै क्रान्तिकारीहरूको तागत यहाँ छ,’ प्रचण्डले भने।

आउँदो प्रतिनिधि सभाको चुनवाबाट नेकपा पहिलो पार्टी बन्न लागेको उनले दाबी गरे। त्यसका लागि रुकुम, रोल्पासँगै देशभरका जनतालाई सहयोग गर्न अपिल गरे।

‘हाम्रो दिन-प्रतिदिन विजय यात्रा अगाडि बढिरहेको छ। स्वच्छ, निष्पक्ष निर्वाचन हुँदा हाम्रो पार्टी पहिलो पार्टी बन्ने पूरै संभावना छ र त्यसका लागि तपाईहरू सबैलाई गम्भिर अपिल गर्दछु,’ प्रचण्डले भने, ‘फेरि एउटा समाजवादी आन्दोलनको सुरुवात केन्द्रीय आधार इलाकाबाट गर्ने संकल्प गर्दै र देशभरीका क्रान्तिकारी जनतालाई पनि त्यही अपिल गर्दछु।’

 

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ