काठमाडौं– बाणिज्य बैंकहरुले जेठ महिनाका लागि ब्याजदरमा खासै फेरबदल गरेका छैनन।
कर्जा योग्य रकम तरलता पर्याप्त भएको हुँदा बैंकहरुले पुरानै ब्याज दरलाई जेठमा पनि निरन्तरता दिएका हुन्।
वैशाखकै ब्याजदरलाई निरन्तरता दिनेमा १५ वटा बाणिज्य बैंक छन् भने ५ वटा बाणिज्य बैंकले ब्याजदरमा सामान्य हेरफेर गरेका छन्।
जसमा नेपाल इन्भेस्टमेन्ट मेघा बैंकले व्यक्तिगत निक्षेपतर्फ १ प्रतिशतले ब्याज घटाउँदा कुमारी बैंक र सानिमा बैंकले ०.२५ र ०.०१ प्रतिशतले ब्याज घटाएका छन्।
यता एभरेष्ट बैंक र सानिमा बैंकले भने वैशाखको तुलनामा जेठमा न्युन प्रतिशतले ब्याजदर बढाएका छन्। जेठका लागि एभरेष्ट बैंकले वैशाखको तुलनामा ०.०३ प्रतिशत र नेपाल बैंकले ०.३ अंकले ब्याज बढाएका छन्।
अधिक तरलता भएर राष्ट्र बैंकले खिचिरहेको अवस्थामा केही बैंकहरूले आफ्नो स्थितिअनुसार ब्याजदरमा सामान्य घटबढ गरेका हुन् ।
केही बैंकलाई पूँजी कोषको दवाव छ भने केहीलाई पर्याप्त रकमका कारण लागत घटाउनुपर्ने दवाव छ । केही बैंकमा कर्जाको माग बढेको छ भने केहीमा माग नै छैन । यिनै विषयलाई मध्यनजर गर्दै बैंकले आफ्नो रणनीतिअनुसार जेठ महिनाका लागि ब्याजदर तय गरेका हुन् ।
लामो अवधिको व्यक्तिगत मुद्दती निक्षेपमा केही उच्च ब्याजदर र छोटा अवधिको मुद्दती निक्षेपमा ब्याजदर केही कम गर्ने नीति बैंकहरूको देखिन्छ । व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घट्दा आधार दर घटेर कर्जाको ब्याजदरमा पनि ऋणीलाई राहत हुन्छ ।
राष्ट्र बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा दिने ब्याजदर र संस्थागत निक्षेपमा दिने ब्याजदरको अन्तर न्यूनतम १ प्रतिशत विन्दु हुनुपर्ने व्यवस्था गरेको छ ।
बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएपछि त्यसकै आधारमा बचत, कल निक्षेपसँगै संस्थागत निक्षेपको ब्याजदर घटाउन सक्छन् ।
जेठमा व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा न्यून ब्याजदर नेपाल बैंकले ५.४५ प्रतिशत तोकेको छ भने सबैभन्दा धेरै ब्याजदर एभरेस्टले ६.६४ प्रतिशत तोकेको छ ।
प्रतिक्रिया