काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल) एक साताका लागि रोकिएको छ । सम्बन्धित निकाय तथा सरोकारवालासँगको परामर्शपछि नयाँ तालिका र खेल हुने स्थानबारे जानकारी दिइने बिसिसीआइले जनाएको छ।
‘अहिलेलाई आईपीएल एक हप्ताका लागि मात्रै स्थगित भएको छ। त्यसपछि परिस्थितिको मूल्यांकन गरेर अर्को निर्णय लिनेछौँ,’ बिसिसिआइ उपाध्यक्ष राजीव शुक्लाले भने।
भारत र पाकिस्तानबीचको तनाव बढेपछि बिसिसीआइले आईपीएल स्थगित गर्ने निर्णय लिएको थियो ।
पाकिस्तानी आक्रमणका कारण बिहीबार पन्जाब किंग्स र दिल्ली क्यापिटल्सबीचको खेल पनि रद्द गरिएको थियो । धर्मशाला तथा नजिकैका विमानस्थल बन्द भएपछि दुवै टोली शुक्रवार बिहान बिसिसिआइले उपलब्ध गराएको विशेष रेलबाट दिल्ली फर्किएका छन् ।
आईपीएलमा हालसम्म ५८ खेल भएका छन् । जसमा धर्मशालामा रद्द गरिएको खेल पनि समावेश छ। अब लिग चरणका १२ खेल बाँकी छन् ।
प्रतियोगिताको लिग चरणमा गुजरात टाइटन्स, रोयल च्यालेन्जर्स बेङ्लुरु, पन्जाब, दिल्ली, लखनउ सुपर जायन्ट्स, सनराइजर्स हैदराबादले समान तीन तथा मुम्बई इन्डियन्स, कोलकाता नाइट्स राइडर्स, राजस्थान रोयल्स र चेन्नई सुपर किंग्सले समान दुई खेल खेल्न बाँकी छ ।
प्रतियोगितामा गुजरात र बेङ्लुरु समान १६ अंकका साथ शीर्ष दुईमा थिए । पन्जाब तेस्रो, मुम्बई चौथो, दिल्ली पाँचौँ कोलकाता छैटौँ र लखनउ सातौँ स्थानमा थिए ।
चेन्नई सुपर किंग्स, राजस्थान रोयल्स र सनराइजर्स हैदराबाद भने प्लेअफ दौडबाट बाहिरिइसकेका छन् ।
प्रतिक्रिया