+
Search

ताजा अपडेट +

पपुलर +

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको संकट :

मेयर खाँले सरकारलाई दिए चेतावनी, आन्तरिक उडान र नाका बन्द गर्ने धम्की

विमानस्थल उद्घाटनको तीन वर्षपछि पनि नियमित अन्तर्राष्ट्रिय उडान नहुँदा भैरहवा, लुम्बिनी क्षेत्रका स्थानीय तह र व्यवसायी आन्दोलित भएका छन्। मेयर खाँले आन्तरिक उडान र बेलहिया नाका बन्द गर्ने चेतावनी दिँदै सरकारलाई दबाब दिने कार्यक्रमको तयारी थालेका छन्।

पालिका लाइभ
२०८२ बैशाख ९, मंगलवार

भैरहवा– गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भएको तीन वर्ष नाघ्न लाग्दा पनि नियमित अन्तर्राष्ट्रिय उडान सुरु हुन नसक्दा लुम्बिनी क्षेत्रका स्थानीय सरकार, निजी क्षेत्र र पर्यटन व्यवसायीहरू आक्रोशित बन्दै गएका छन्। विमानस्थलको उचित सञ्चालनका लागि सरकारलाई दबाब दिनुपर्ने निष्कर्षसहित अब आन्तरिक उडान र भारतसँग जोडिएको बेलहिया नाका बन्द गर्ने चेतावनीसमेत सार्वजनिक रूपमा दिइएको छ।

सिद्धार्थनगर नगरपालिकाका मेयर इस्तियाक अहमद खाँको नेतृत्वमा सोमबार नगरपालिकामा आयोजित छलफल कार्यक्रममा विमानस्थलको समस्यामाथि गम्भीर चिन्ता व्यक्त गरे। मेयर खाँले अब शब्द र गुनासो मात्र नभई ‘एक्सन’ मा जानुपर्ने बेला आएको भन्दै आन्तरिक उडान र सीमावर्ती बेलहिया नाका दुई हप्ता बन्द गरेर सरकारलाई सचेत गराउने चेतावनी दिए। उनका अनुसार प्रधानमन्त्री र मन्त्रीहरूलाई सडकमार्ग प्रयोग गर्न बाध्य बनाएपछि मात्र उनीहरूले स्थानीयकाे समस्या बुझ्नेछन्।

‘आन्तरिक उडान बन्द गरौँ, सबै प्लेन रोकेर प्रधानमन्त्री र मन्त्रीहरूलाई गाडीबाट यात्रा गर्न बाध्य पारौँ, बल्ल उनीहरूको दिमाग खुल्छ,’ मेयर खाँले आक्रोश पोख्दै भने, ‘बेलहिया नाका र भन्सार एक हप्ता मात्रै बन्द गरे पनि देशैभरि तरंग आउँछ।’ खाँले अब प्रारम्भमा प्रधानमन्त्री तथा सम्बन्धित मन्त्रालयहरूसँग डेलिगेसनमार्फत छलफल गरिने, तर बेवास्ता गरेमा आक्रामक दबाबमूलक कार्यक्रम सुरु गरिने बताए।

खाँले प्रधानमन्त्री केपी शर्मा ओलीबाहेक सबै मन्त्रीहरूले आफ्नो फोन उठाउने गरेको भन्दै निजी क्षेत्र र संघ संस्थाहरूलाई प्रतिनिधिमण्डलमा सामेल भई काठमाडौंमा सरकारसँग वार्ता गर्न आग्रह गरे।

छलफलमा सहभागिता जनाएका नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य महेन्द्रकुमार श्रेष्ठले भने काठमाडौं केन्द्रित केही व्यावसायिक समूहले जानाजान गौतमबुद्ध विमानस्थललाई अवरुद्ध गरिरहेको आरोप लगाए। ‘काठमाडौंबाहिर अन्तर्राष्ट्रिय उडान सञ्चालन भएमा आफ्नो व्यापार घट्ने चिन्ताले केही गिरोह सक्रिय छन्,’ उनले आरोप लगाए, ‘त्यसविरुद्ध संयुक्त आन्दोलन अपरिहार्य छ।’

सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले समेत विगतका आन्दोलन र दबाबमूलक कार्यक्रमले ठोस परिणाम नल्याएको भन्दै यसपटक स्थानीय सरकारकै नेतृत्वमा योजनाबद्ध ढंगले दबाब सिर्जना गर्नुपर्नेमा जोड दिइन्।

वास्तवमै, तीन वर्षअघि औपचारिक रूपमा उद्घाटन गरिएपछि केही समयका लागि कतार एयरवेज, थाई एयर एसिया, फ्लाई दुबई, र जजिरा एयरलाइन्सले उडान सुरु गरे पनि स्थायित्व कायम हुन सकेन। भिजिबिलिटीको समस्या, यात्रुको कमी, र प्रविधि अभावको कारण देखाउँदै ती एयरलाइन्सहरूले एक महिनाभित्रै सेवा स्थगित गरेका थिए। नागरिक उड्डयन प्राधिकरणले वैकल्पिक प्रविधि आरएनपी-एआर लागू गरेर समस्या समाधान प्रयास गरे पनि गत चैत १६ गतेपछि फेरि अन्तर्राष्ट्रिय उडान ठप्प छन्।

हाल नेपाल एयरलाइन्स मात्र साप्ताहिक तीन उडान गर्दै आएको छ। यस्तो सन्दर्भमा, व्यवसायीहरू निराश छन् भने पर्यटकहरूको अपेक्षा पनि अधुरै छ। एक खर्ब रुपैयाँभन्दा बढीको लगानीमा बनेका तारे होटलहरू र पर्यटन पूर्वाधार निष्क्रिय जस्तै छन्।

ट्राभल व्यवसायी चन्द्र थापाले काठमाडौंका ठूला ट्राभल एजेन्सीहरू, एयरलाइन्स कम्पनी र सरकारी निकायहरूको मिलेमतोले भैरहवा विमानस्थललाई जानाजान पन्छाइरहेको आरोप लगाए। ‘भैरहवाबाट उड्ने यात्रु नै कम बनाइदिन्छन्, टिकट काट्ने पोर्टल नै बन्द छ यहाँ,’ थापाले गुनासो गरे।

पर्यटन व्यवसायी सञ्जय बजिमयले अन्तर्राष्ट्रिय उडान सुलभ बनाउन विमानस्थलमै सम्पर्क कार्यालय, अनलाइन ई-भिसा, र डिजिटल भुक्तानी प्रणाली आवश्यक भएको बताए। अर्का व्यवसायी सागर अधिकारीले भने लुम्बिनीमा हिन्दु-बौद्ध तीर्थयात्रा गर्नेहरूका लागि विशेष चासो राख्ने देशहरूबाट सिधा उडान सुनिश्चित गरिनुपर्नेमा जोड दिए।

भविष्यमा सुधारको आशा भने झिनो भए पनि बाँकी छ। विमानस्थलका प्रवक्ता श्यामकिशोर साहका अनुसार जजिरा एयरलाइन्सले आउँदो मे महिनाबाट फेरि उडान सुरु गर्ने बताएको छ, तर अन्य एयरलाइन्सहरूले ‘समर शेड्युल’ अहिलेसम्म नबनाएको कारण तत्कालको समस्या समाधान हुने संकेत छैन।

यसरी, लुम्बिनी प्रदेशको विकाससँग प्रत्यक्ष रूपमा जोडिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अवस्था अहिले अन्योलपूर्ण छ। केन्द्रको उपेक्षा र स्थानीय आक्रोशबीच यसको भविष्य राजनीतिक इच्छाशक्ति, प्रशासनिक प्रतिबद्धता र व्यावसायिक इमानदारीमा भर पर्ने देखिन्छ। अबको लडाइँ केवल उडान सुरुवातको होइन, लुम्बिनी क्षेत्रको समग्र सम्भावना र आत्मसम्मान जोगाउने अभियान बन्ने देखिन्छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ