बुटवल– माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गभर्नर नियुक्तिमा ढिलाइ नगर्न सरकारलाई सुझाव दिएका छन् ।
स्वार्थ समूहको बिगबिगी भइरहेको बताउँदै उनले मेरिटोक्रेसीका आधारमा गभर्नर नियुक्त गरेर अर्थतन्त्रमा देखा परेका गम्भीर समस्याको समाधानका लागि पहल गर्न सरकारलाई सुझाव दिएका हुन् ।
रुपन्देहीमा बिहीबार पत्रकारसँग कुरा गर्दै प्रचण्डले गभर्नर नियुक्तिको विषयमा दलहरुबीच नभई बिचौलियाबीच कुरा नमिलेको दाबी गरे । त्यसै कारणले ढिला भएको उनको दाबी छ ।
‘अहिले गभर्नरको विषयमा बिचौलियाको बीचमा तानातान छ । तपाईंहरुलाई लाग्छ होला पार्टीहरूको बीचमा भागबन्डा मिलेको छैन । तर, कुरा नमिलेको बिचौलियाको बीचमा हो’, उनले भने, ‘यो समूहको हुने कि त्यो समूहको हुने भन्ने टुंगिएको छैन । उनीहरूले कहिले कांग्रेसलाई कहिले एमालेलाई पक्डेका छन् । त्यसैले ढिलो भइराखेको छ ।’
पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले सरकार पनि बिचौलियाको स्वार्थ अनुसार नै काम गरिरहेको बताउँदै राम्रो काम गर्ने इमानदार कर्मचारीहरूलाई प्रताडित गर्ने, अपमानित गर्ने र निकाल्ने र नराम्रोलाई भर्ती गर्ने काम भइरहेको बताए ।
उनले अर्थतन्त्रलाई नियमन, नियमित गर्ने, सन्तुलित बनाउने महत्त्वपूर्ण संवेदनशील पदका विषयमा हुने बिचौलियाको चलखेल बन्द गर्न आग्रह गरे । पार्टी र समाजवादी मोर्चाकै तर्फबाट पनि पटक पटक सरकारलाई खबरदारी गरिरहेको बताउँदै उनले सरकारले भने त्यतातिर ध्यान नदिएको बताए ।
उनले कांग्रेस महामन्त्रीले नै प्रधानमन्त्रीको बेडरुमसम्मै बिचौलियाको पहुँच रहेको कुरा भनिसकेको बताउँदै सरकार बिचौलियाले चलाउने कुरा पुष्टि भएको बताए । ‘पहिले त माओवादी र प्रचण्डले भनेको पूर्वाग्रह हो कि भन्ने लाग्थ्यो होला । अहिले त यो कुरा कांग्रेसका महामन्त्रीहरूले नै भन्न थाल्नुभयो ‘, उनले भने, ‘अब त छ्याङ्ग भयो नि ! प्रचण्डले लगाएको यो झुटो होइन रैछ, साँचो रैछ भन्ने ।’
उनले सरकारलाई अझै पनि बिचौलियाको स्वार्थअनुसारका नियुक्ति गर्ने र इमानदार कर्मचारीलाई प्रताडित गर्ने काम नगर्न सुझाव दिए । उनले यो गणतन्त्रका लागि पनि अपरिहार्य र अनिवार्य भएको बताए ।
प्रतिक्रिया