गोरख– बारपाक सुलिकोट गाउँपालिका–५ लाकुरीबोटका लागि वडाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारका रूपमा गोविन्द प्रसाद भट्टले उम्मेदवारी घोषणा गर्दै विस्तृत कार्य योजना सार्वजनिक गरेका छन्।
उम्मेदवारी घोषणा गर्दै उनले वर्तमान राजनीतिक अभ्यासप्रति असन्तुष्टि जनाउँदै सीमित स्वार्थ, दलगत खिचातानी र भ्रष्ट मानसिकताबाट प्रभावित संरचनाको विकल्प खोज्न आफू अघि आएको बताए। ‘सर्वपक्षीय, पारदर्शी र जनमुखी विकासका लागि मैले स्वतन्त्र उम्मेदवारी दिएको हुँ,’ उनले भने।
भट्टले आफू निर्वाचित भएमा हाल देखिएका केही विकृत अभ्यासहरू अन्त्य गर्ने प्रतिबद्धता जनाएका छन्। उपभोक्ता समितिमार्फत हुने भ्रष्टाचार, सरकारी अनुदानको दुरुपयोग, शिक्षक तथा कर्मचारी भर्नामा हुने हस्तक्षेप, अव्यवस्थित सडक निर्माण तथा वन फडानी र नदिजन्य पदार्थको अवैध दोहनजस्ता गतिविधि रोक्ने उनले स्पष्ट पारेका छन्।
उनले स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम वडासमितिलाई प्रभावकारी कार्यकारी निकायका रूपमा सञ्चालन गर्ने योजना अघि सारेका छन्। योजना कार्यान्वयनमा पारदर्शिता कायम गर्न सामाजिक परीक्षणलाई अनिवार्य बनाउने र जनगुनासो छानबिनका लागि ‘लोकपाल समिति’ गठन गर्ने उनको प्रस्ताव छ।
भट्टले शिक्षा, स्वास्थ्य, यातायात, महिला सशक्तीकरण, वातावरण संरक्षण, सांस्कृतिक जगेर्ना, बालबालिका तथा ज्येष्ठ नागरिक, युवा सशक्तीकरण, कृषि तथा पशुपालन, सुशासन र साइबर पूर्वाधारलाई प्राथमिकतामा राखेका छन्। शिक्षा क्षेत्रमा प्रायोगिक विज्ञान शिक्षालय स्थापना, अन्तर्राष्ट्रियकरण पाठ्यक्रम र छात्रवृत्ति कोष सञ्चालन गर्ने योजना उनले अघि सारेका छन् भने स्वास्थ्यतर्फ टेलिमेडिसिन सेवा, घुम्ती स्वास्थ्य सेवा र दीर्घ रोगीलाई निःशुल्क औषधि वितरण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
यातायात पूर्वाधार सुधार, सुलभ बस सेवा सञ्चालन, महिला सशक्तीकरणका कार्यक्रम, वन तथा जलस्रोत संरक्षण, सांस्कृतिक सम्पदाको जगेर्ना तथा बालबालिका र ज्येष्ठ नागरिक लक्षित कार्यक्रमहरू पनि उनको योजनामा समेटिएका छन्। त्यसैगरी युवा रोजगारी र सीप विकास, खेलकुद प्रवर्द्धन, कृषि आधुनिकीकरण तथा सहकारी प्रणालीमार्फत उत्पादन वृद्धि गर्ने कार्यक्रमहरूलाई पनि उनले प्राथमिकता दिएका छन्।
सेवा प्रवाहलाई नागरिकमैत्री बनाउने लक्ष्यसहित घरदैलोमै सेवा (डोर-स्टेप डेलिभरी), सूचना तथा समन्वय डेस्क स्थापना, रोजगार केन्द्र सञ्चालन र श्रम सहकारीमार्फत रोजगारी सिर्जना गर्ने योजना उनले अघि सारेका छन्। साथै साइबर अपराधबारे जनचेतना अभिवृद्धि, इन्टरनेट पहुँच विस्तार र डिजिटल सेवा प्रवर्द्धनका लागि ‘साइबर सेन्टर’ स्थापना गर्ने योजना पनि समावेश गरिएको छ।
भट्टले आफू निर्वाचित भएको तीन वर्षभित्र कार्ययोजनाको प्रगति समीक्षा गर्ने र अपेक्षित उपलब्धि हासिल नभए जनतासमक्ष माफी माग्दै पदबाट राजीनामा दिने प्रतिबद्धता जनाएका छन्। “वडाको समुन्नतिको लागि तपाईंहरूको अमूल्य मत आवश्यक छ,” भन्दै उनले मतदातासँग समर्थनको अपिल गरेका छन्।
प्रतिक्रिया