काठमाडौं– कृषि, वन तथा वातावरणमन्त्री गिता चौधरीले राष्ट्रिय दुग्ध विकास बोर्डलाई दुग्ध क्षेत्रको समग्र विकासका लागि सक्रिय भूमिका निर्वाह गर्न निर्देशन दिएकी छिन् ।
बोर्ड अध्यक्षका रूपमा पदभार ग्रहण गर्दै मन्त्री चौधरीले दुग्ध क्षेत्रको प्रवर्द्धनका लागि सरकारलाई नीतिगत सुझाव दिनुका साथै उत्पादन, उपभोग, गुणस्तर र बजार व्यवस्थापनमा सुधार ल्याउनुपर्नेमा जोड दिइन् ।
उनले आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनमा बोर्डको भूमिका प्रभावकारी हुनुपर्ने बताइन् ।
निजी तथा सरकारी दुग्ध व्यवसायीबीच समन्वय गर्ने र दुग्ध विकास सम्बन्धी अध्ययन गरी ‘डेरी डाटाबेस’ तयार पार्नु बोर्डको प्रमुख जिम्मेवारी भएको उनको भनाइ थियो ।
मन्त्री चौधरीले स्थापनाकालदेखि नै बोर्डले अपेक्षा अनुसार सेवा दिन नसकेको र लामो समयदेखि आफ्नो औचित्य प्रमाणित गर्न संघर्ष गरिरहेको स्वीकार गरिन् ।
‘दुग्ध उत्पादक किसान, सहकारी र निजी क्षेत्रका लागि बोर्ड आवश्यक भए पनि प्रभावकारी भूमिका निर्वाह गर्न नसक्दा समय–समयमा यसको खारेजीको चर्चा हुने गरेको छ,’ उनले भनिन् ।
वर्तमान अवस्थालाई बोर्डका लागि सुनौलो अवसरको रूपमा व्याख्या गर्दै मन्त्री चौधरीले संस्थाको लक्ष्य र उद्देश्यलाई प्राथमिकतामा राखी पुनर्संरचना गर्न निर्देशन दिइन् ।
बोर्ड पुनर्संरचना मार्फत यसको आवश्यकता र औचित्य प्रमाणित हुनेमा उनले विश्वास व्यक्त गरिन् ।
‘बोर्डको पुनर्संरचनासँगै दुग्ध क्षेत्रको विकासमा प्रभावकारी योगदान पुग्ने मेरो अपेक्षा छ,’ उनले थपिन् ।
प्रतिक्रिया