काठमाडौं – प्रतिनिधिसभाको बैठक आज बस्दैछ। संघीय संसद् भवन, सिंहदरबारमा बिहान ११ बजे बैठक सुरु हुने कार्यसूची रहेको छ।
आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। उक्त प्रस्तावमाथिको छलफल आजै प्रारम्भ हुने कार्यसूचीमा उल्लेख छ। साथै, बजेटमाथि उठेका प्रश्नहरूको जवाफ पनि अर्थमन्त्री वाग्लेले दिनेछन्।
बैठकमा अर्थमन्त्री वाग्लेले ‘विनियोजन विधेयक, २०८३’ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव पनि पेश गर्नेछन्।
त्यसैगरी, उनले ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३’ तथा ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावसमेत बैठकमा पेश गर्ने सम्भावित कार्यसूची रहेको छ।
यसैबीच, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले राष्ट्रियसभाबाट उत्पत्ति भएको ‘पर्यटन विधेयक, २०८२’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेश गर्नेछन्।
त्यस्तै, युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले ‘अन्तर्राष्ट्रिय श्रम संगठनको श्रम निरीक्षण सम्बन्धी महासन्धि, १९४७ (नम्बर ८१)’ र ‘अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धि, १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल नम्बर २९’ संसद्मा पेश गर्ने कार्यसूची रहेको छ।
प्रतिक्रिया