+
Search

ताजा अपडेट +

पपुलर +

पालुङटारकाे आकाशमा सफल उडान गर्ने ‘नेपाली पाइलट’

पालिका लाइभ
२०७५ माघ २२, मंगलवार

गोरखा– उद्योग वाणिज्य संघ पालुङटार बजार इकाईको आयोजनामा सोमबार लिगलिगकोटबाट पालुङटारको माझटारसम्म प्याराग्लाइडिङको सफल परीक्षण उडान गरिएको छ।

फागुन ३ देखि १३ गतेसम्म सञ्चालन हुने महोत्सवको मुख्य आकर्षणका रूपमा समावेश गरिएको प्याराग्लाइडिङको परीक्षण उडान नेपाली पाइलट पालुङटार–५ का निस्सिम थापा मगर र पोखराका प्रवीण केसीले गरेका हुन्। उनीहरूले लिगलिगकोटबाट उडान भरेर माझटारसम्म सफल अवतरण गरेका थिए।

परीक्षण उडानका क्रममा उनीहरू उडान स्थलभन्दा थप करिब दुई हजार मिटर माथिसम्म पुगेर एक घण्टाभन्दा बढी समय आकाशमा रहेका थिए। इन्जिनबिना केवल हावाको सहारा र हातबाट नियन्त्रण गरिने प्याराग्लाइडिङमा उडान बिन्दुभन्दा माथिल्लो उचाइ हासिल गर्नु चुनौतीपूर्ण मानिन्छ।

पाइलट थापा मगर अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सहभागिता जनाइसकेका अनुभवी खेलाडी हुन्। उनले विभिन्न प्रि–वर्ल्ड कप प्रतियोगितामा प्रतिस्पर्धा गरेका छन् भने इन्डोनेसियामा सम्पन्न एसियन कपमा नेपाली टोलीले तेस्रो स्थान हासिल गर्दा उनी टोलीका सदस्य थिए। थापा मगरले पोखराबाट उडेर काठमाडौंसम्म करिब २०० किलोमिटर दूरी तीन घण्टामा पार गर्दै विश्व कीर्तिमानसमेत कायम गरेका छन्।

हालै उनी दक्षिण कोरियाको गोचाङमा आयोजित प्रि–वर्ल्ड कपमा सहभागी भएर फर्किएका हुन्। स्लो क्रस कन्ट्री फ्लाइटमा उनी करिब चार हजार मिटर अर्थात् १४–१५ हजार फिटसम्मको उचाइमा घण्टौँ उडान गर्न सक्षम रहेको बताइन्छ। उनी नेपालका उत्कृष्ट १० प्याराग्लाइडिङ पाइलटमध्ये एक मानिन्छन्।

पोखरा प्याराग्लाइडिङ प्रालिका सञ्चालक भेनिश थापाका अनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा सञ्चालनमा आएपछि सराङकोट र तोरीपानी क्षेत्रबाट हुँदै आएका प्याराग्लाइडिङ उडान प्रभावित हुने सम्भावना छ। त्यसैले वैकल्पिक गन्तव्यको खोजीस्वरूप गोरखासहित विभिन्न जिल्लामा परीक्षण उडान गरिँदै आएको उनले बताए।

यसअघि गोरखा नगरपालिका र धार्चे गाउँपालिकाका केही स्थानमा पनि परीक्षण उडान गरिए तापनि नियमित सञ्चालनमा आउन सकेको छैन। लिगलिगकोट र पालुङटार क्षेत्रमा नियमित प्याराग्लाइडिङ सञ्चालन गर्न सकिए पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुग्ने आयोजकको विश्वास छ।

महोत्सव आयोजकका अनुसार हाल परीक्षण उडान महोत्सव अवधिलाई लक्षित गरी गरिएको भए पनि भविष्यमा नियमित सञ्चालनको सम्भावना अध्ययन गरिनेछ। नियमित उडान सञ्चालन हुन सके पालुङटार, लिगलिगकोट तथा समग्र गोरखा जिल्लाको पर्यटन व्यवसायलाई नयाँ उचाइमा पुर्‍याउन मद्दत पुग्ने अपेक्षा गरिएको छ।

लिगलिगकोटको पर्यटन प्रवर्द्धनका लागि केही समयअघि त्यहाँ नेपालको सबैभन्दा ठुलो ४० फिट अग्लो राष्ट्रिय झन्डासमेत स्थापना गरिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ