+
Search

ताजा अपडेट +

पपुलर +

चिनले भन्यो : नेपाल–चीन सीमामा अर्को कृत्रिम ताल बन्यो, ३ दिनमा फुट्न सक्छ

An area near Gyirong Port in southwest China's Xizang Autonomous Region on August 26, 2026. A mudslide struck near Gyirong Port in Xizang on Wednesday. Photo: the Xinhua News Agency
पालिका लाइभ
२०८३ भाद्र ११, बिहीबार

काठमाडाैं- चीनको जलस्रोत मन्त्रालयले नेपालको छोचेन खोला र पुरेपु छाङ्पो नदीको संगम नजिकै ठूलो प्राकृतिक बाँध (ब्यारियर) ताल बनेको जनाएको छ।

बिहीबार बिहानसम्म उक्त तालमा करिब २० लाख घनमिटर पानी जम्मा भएको र तालबाट पानी ओभरफ्लो हुन थालिसकेको मन्त्रालयले जनाएको हो ।

आगामी तीन दिनमा थप ३० लाख घनमिटर पानी तालमा जम्मा हुने अनुमान रहेकाले बाँध फुट्ने उच्च जोखिम रहेको चिनियाँ सञ्चारमाध्यम चाइना सेन्ट्रल टेलिभिजन (सीसीटीभी)ले बिहीबार जनाएको ग्लोबल टाइम्सले लेखेको छ।

चीनको जलस्रोत मन्त्रालयले तालको अवस्थालाई नजिकबाट निगरानी गरिरहेको छ। सम्भावित बाँध फुट्ने अवस्थालाई ध्यानमा राख्दै बाढीको प्रभावसम्बन्धी विभिन्न सिमुलेसन तथा विश्लेषण गरिरहेको र आपत्कालीन उद्धार कार्यमा सहयोग पुर्‍याउने तयारी भइरहेको जनाएको छ।

पुरेपु र छोचेन खोला तिब्बतमा उद्गम भई नेपाल प्रवेश गरेपछि रसुवागढी क्षेत्रमा भोटेकोशी हुँदै त्रिशूली नदी प्रणालीमा मिसिन्छन्।

यसैबीच, चीन–नेपाल सीमा क्षेत्रमा नेपालको तर्फबाट आएको विनाशकारी पहिरोले दक्षिण पश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रस्थित ग्यिरोङ बन्दरगाहमा ठूलो क्षति पुर्‍याएपछि चिनियाँ अधिकारीहरूले विभिन्न मोर्चामा उद्धार टोली परिचालन गरेका छन्।

उद्धारमा आपत्कालीन उद्धारकर्मी, चिनियाँ जनमुक्ति सेना, इन्जिनियरिङ टोली, दूरसञ्चार कम्पनी तथा राहत संस्थाहरू खटिएका छन्। उनीहरूले जनशक्ति, हेलिकप्टर तथा अन्य विमान, उपकरण र राहत सामग्री प्रभावित क्षेत्रमा पठाइरहेका छन्।

कठिन भौगोलिक अवस्था, लगातार भइरहेको वर्षा तथा थप प्राकृतिक विपद्को जोखिमका बीच उद्धारकर्ताहरूले खोज तथा उद्धार कार्यलाई तीव्रता दिएका छन्।

बिहीबार बिहानसम्म घटनामा ३ जनाको मृत्यु भएको पुष्टि, २ जनाको उद्धार र ५५८ जना अझै बेपत्ता रहेको जनाइएको छ। बेपत्तामध्ये २६० जना विदेशी नागरिक रहेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ