+
Search

ताजा अपडेट +

पपुलर +

रास्वपा सभापति लामिछानेले बोलाएको सर्वदलीय बैठक शुरु

पालिका लाइभ
२०८३ भाद्र ११, बिहीबार

काठमाडौं– सिंहदरबारमा सर्वदलीय बैठक सुरु भएको छ ।

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू सहभागी छन् ।

सिंहदरबारस्थित राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको संसदीय दलको कार्यालयमा बैठक सुरु भएको हो ।

बैठकमा रास्वपा सभापति रवि लामिछाने, नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपा एमालेका महासचिव शंकर पोखरेल, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन र राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाही लगायत उपस्थित छन् ।

बैठकमा बुधवार तिब्बततर्फबाट आएको बाढीले पुर्‍याएको क्षति, उद्धार, राहत र पुनर्स्थापनाका विषयमा छलफल हुँदैछ ।

बुधवार आएको बाढीले रसुवा, नुवाकोट र धादिङमा ठूलो जनधनको क्षति भएको छ । खोज तथा उद्धारको कार्य जारी छ । भोटेकोशी र त्रिशूली नदी तटीय क्षेत्रका बस्तीहरू बगेका छन् ।

यसअघि नै दलहरूले सार्वजनिक रूपमा र संसद्मार्फत उद्धार, राहत, पुनर्स्थापना र भविष्यमा आउन सक्ने सम्भावित विपद् रोक्ने पूर्व तयारी र दीर्घकालीन नीति तय गर्ने कार्यमा सरकारसँगै रहने प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ