काठमाडौं– सरकारले करका लागि सीमा क्षेत्रमा गरेको कडाइको विषयलाई लिएर अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग आफ्नै कार्यकर्ता आक्रोशित बनेका छन् ।
मन्त्रीहरूले नागरिकसँग दोहोरो संवाद गर्ने गरी सुरु गरेको ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रममा अर्थमन्त्री वाग्लेको कार्यप्रति कार्यकर्ताले प्रश्न उठाएका हुन् । बिहीबार साँझ भएको उक्त संवादमा मधेशका एक कार्यकर्ताले आक्रोश पोखेका हुन् ।
भारतबाट किनमेल गरेर फर्केका नेपाली नागरिकलाई करका लागि गरिएको कडाइप्रति उनले आक्रोश पोखेका थिए ।
अर्थमन्त्रीप्रति रुष्ट उनले भने, ‘हजुरले जुन अर्थनीति बनाउनु भएको छ । यो नेपालको हो कि अमेरिकाको ? यो हिमाल, पहाड, तराईको हो कि अमेरिकाको हो ?’
सीमा क्षेत्रमा गरिएको कडाइले मधेशका २२ जिल्लामा रास्वपा पस्ने स्थिति नभएको स्थिति पनि ती कार्यकर्ताले सुनाए । कार्यकर्ताले भने, ‘किन छैन भने प्रत्येक चिजमा हजुरले कर लगाउनु भयो । २२ वटा जिल्लामा खुला बोर्डर छ । रोटीबेटीको सम्बन्ध छ भारतसँग हाम्रो ।’
महामन्त्री विपिन आचार्य र सहमहामन्त्री असीम शाह पनि उपस्थित संवादमा सीमाका जिल्लाबाट प्रत्येक दिन ४/५ लाख मान्छे नेपाल–भारत आवतजावत हुने उनले बताए ।
सीमा क्षेत्रमा प्रहरी प्रशासनले ज्यादती गरेको बताउँदै अर्थमन्त्रीलाई सुनाए, ‘एक किलो चिनीको लागि सीमावासीले प्रहरी र प्रशासनको कुटाइ खाइरहेको छ । यो हजुरको नीतिको कारणले हो ।’
अर्थमन्त्री वाग्ले काठमाडौंको मात्रै अर्थमन्त्री बनेको आरोप लगाउँदै हिमाल, पहाड र तराईको अर्थमन्त्री बन्न सुझाव दिए । भारतबाट सानो मात्रामा समान किनेर फर्केका नेपाली नागरिकलाई प्रहरी प्रशासनले दुःख दिएको भन्दै रास्वपाका नेता कार्यकर्ताले पनि आवाज उठाइरहेका छन् ।
सभापति रवि लामिछानेले मन्त्री र सांसदहरूसँग गरेको छलफलमा पनि उक्त विषयलाई मधेशका सांसदहरूले जोड दिएर उठाएका थिए ।
सीमा क्षेत्रमा प्रहरी प्रशासन व्यवहारिक हुन नसकेको गुनासो उठिरहेको छ ।
प्रतिक्रिया