+
Search

ताजा अपडेट +

पपुलर +

अमरसिंह थापाको जन्मस्थल सिरानचोक नै भएको इतिहासविद्हरूको दाबी

पालिका लाइभ
२०८३ असार १६, मंगलवार

गोरखा- राष्ट्रिय विभूति वडाकाजी वीर अमरसिंह थापाको जन्म सिरानचोक गाउँपालिका–६ स्थित सिरानडाँडामा भएको इतिहासविद्हरूले दाबी गरेका छन्।

सिरानचोक गाउँपालिका–६ अमरपुरस्थित अमरसिंह थापा पार्कमा आयोजित ‘नेपाल एकीकरण अभियानका महान् सेनापति वडाकाजी वीर अमरसिंह थापाको योगदान’ विषयक अन्तरक्रिया कार्यक्रममा इतिहासविद् तथा संस्कृतिविद् प्रा. डा. जगमान गुरुङले गहिरो ऐतिहासिक अध्ययनका आधारमा अमरसिंह थापाको जन्मस्थल सिरानचोक नै रहेको बताएका हुन्।

उनका अनुसार सिरानचोक क्षेत्र अमरसिंह थापा तथा उनका पिता उमराव भीमसिंह थापाको बसोबाससँग जोडिएको ऐतिहासिक स्थल हो। यही क्षेत्र गोरखा दरबार जाने पुरानो मार्गसमेत भएकाले स्थानीयवासीले दुवैको शालिक स्थापना गरेका छन्। लामो समयदेखि अवलोकन गर्ने इच्छा पूरा भएको भन्दै उनले खुसी व्यक्त गरे।

प्रा. डा. गुरुङले उमराव भीमसिंह थापाको निधनपछि अमरसिंह थापा गोरखा दरबारमा हुर्किएर सैनिक तालिम लिएको र नेपाल एकीकरण अभियानमा अतुलनीय योगदान दिएको उल्लेख गरे। जन्मस्थलमै पुगेर श्रद्धाञ्जली अर्पण गर्न पाउँदा गौरव महसुस भएको उनको भनाइ थियो। उनले नाटककार वालकृष्ण समको ‘अमरसिंह’ कृतिमा सिरानचोकलाई जन्मस्थलका रूपमा उल्लेख गरिएको तथा नेपाल प्रज्ञा प्रतिष्ठानका प्रथम उपकुलपति सूर्यविक्रम ज्ञवालीद्वारा लिखित ‘नेपालको इतिहासमा अमरसिंह थापा’ पुस्तकमा पनि अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको उल्लेख रहेको बताए।

कार्यक्रममा बोल्दै प्रा. डा. गुरुङले बाह्य प्रभावका कारण नेपाली समाजमा विभाजनको प्रवृत्ति बढ्दै गएको भन्दै सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई सुदृढ बनाउन सबैलाई आग्रह गरे। उनले अमरपुरलाई राष्ट्रिय एकताको उदाहरणका रूपमा प्रस्तुत गर्दै अमरसिंह थापाको नाममा पार्क निर्माणका लागि मगर समुदायबाट जग्गा दान, गुरुङ समुदायबाट पहल तथा ब्राह्मण समुदायबाट व्यवस्थापनमा योगदान भएको उल्लेख गरे। अंग्रेजसँगको युद्धमा अमरसिंह थापाले कुनै पनि प्रलोभनमा नपरी राष्ट्रप्रति अटल निष्ठा प्रदर्शन गरेको स्मरण गर्दै उनले अमरपुर क्षेत्रको ऐतिहासिक महत्त्व अन्तर्राष्ट्रिय स्तरसम्म पुग्ने विश्वास व्यक्त गरे।

इतिहासविद् डा. दिनेशराज पन्तले पनि अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमै भएको दाबी दोहोराए। विसं २०३७ सालदेखि गोरखाको इतिहासमा अनुसन्धान गर्दै आएको उल्लेख गर्दै उनले गोरखाको इतिहास करिब १,३०० वर्ष पुरानो रहेको र गोरखा दरबार क्षेत्रका लिच्छविकालीन शिलालेखहरूले यस क्षेत्रको ऐतिहासिक महत्त्व पुष्टि गर्ने बताए। उनले वडाकाजी अमरसिंह थापाको नेतृत्वमा नेपाली सेना सतलज पार गर्दै काँगडादेखि रावी नदीसम्म पुगेको स्मरण गर्दै राष्ट्रका लागि समर्पित, निष्ठावान् र लोभ–लालचबाट टाढा रहेका वीर सेनापति भएको बताए । साथै, जन्मस्थलको संरक्षण तथा प्रवर्द्धनमा योगदान पुर्‍याउने सिरानचोक गाउँपालिका र राष्ट्रिय विभूति अमरसिंह थापा प्रतिष्ठानप्रति धन्यवाद व्यक्त गरे।

राष्ट्रिय विभूति अमरसिंह थापा प्रतिष्ठानका संरक्षक क्याप्टेन रामेश्वर थापाको नेतृत्वमा प्रा. डा. जगमान गुरुङ, डा. दिनेशराज पन्त, पूर्वमन्त्री विक्रमबहादुर थापालगायत १७ सदस्यीय टोलीले अमरपुरस्थित अमरसिंह थापा तथा उमराव भीमसिंह थापाको शालिक, श्रीनाथ गण, ऐतिहासिक गढीलगायत स्थलको अवलोकन गरेको थियो।

अमरपुरमा राष्ट्रिय विभूति अमरसिंह थापाको शालिक स्थापना भएपछि यस क्षेत्रको ऐतिहासिक तथा धार्मिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ। गाउँपालिकाले पार्कसम्म मोटरबाटो, खानेपानी, शौचालय तथा विश्रामस्थलको व्यवस्था गरिसकेको जनाएको छ। राष्ट्रिय विभूति अमरसिंह थापाको स्मृतिमा हरेक वर्ष साउन १६ गते अमरपुरमै स्मृति दिवस मनाइँदै आएको छ।

यसैबीच, इतिहासविद्हरूको टोलीले श्रीनाथ मण्डली, ऐतिहासिक कोट तथा टुँडिखेलको समेत स्थलगत अवलोकन गरेको थियो। स्थानीयसँगको छलफलमा प्रा. डा. गुरुङले तल्लो पामका विद्वान झाँगल गुरुङले पृथ्वीनारायण शाहको दिव्योपदेश तयार पार्न महत्त्वपूर्ण भूमिका खेलेको ऐतिहासिक उल्लेख रहेको बताए।

सहभागीहरूले सिरानचोक गाउँपालिकाका पूर्वअध्यक्ष राजु गुरुङ, राष्ट्रिय विभूति अमरसिंह थापा प्रतिष्ठान तथा गाँखु–काठमाडौं एकता समाजको समन्वयमा ऐतिहासिक अध्ययन र अवलोकनको अवसर जुटेको बताएका थिए।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ