+
Search

ताजा अपडेट +

पपुलर +

एभरेष्ट बैंकको लाभांश घोषणा, सेयरधनीलाई १५ प्रतिशत प्रतिफल, बोनस सेयर कति?

पालिका लाइभ
२०८३ भाद्र ११, बिहीबार

काठमाडौं– एभरेष्ट बैंकले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

बैंक सञ्चालक समितिको बिहीबार बसेको ४०२औँ बैठकले लाभांश प्रस्ताव गर्दै स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पठाउने निर्णय गरेको हो। राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र प्रस्तावित लाभांश वितरण हुनेछ।

बैंकले हाल कायम १३ अर्ब ७२ करोड १३ लाख ७५ हजार ९२४ रुपैयाँ चुक्ता पुँजीका आधारमा लाभांश वितरण गर्न लागेको हो। प्रस्तावित १० प्रतिशत नगद लाभांशमा बोनस सेयरमा लाग्ने करसमेत समावेश गरिएको बैंकले जनाएको छ।

बैंकको वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०८२/८३ मा खुद नाफा ४.७५ प्रतिशतले बढेर ५ अर्ब ६ करोड ९९ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष बैंकले ४ अर्ब ८३ करोड ९९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

नियमनकारी समायोजनपछि बैंकको खुद वितरणयोग्य नाफा २ अर्ब ९५ करोड ३६ लाख रुपैयाँ छ। अघिल्लो वर्षको सञ्चित नाफा र नगद लाभांश भुक्तानीसमेत समायोजन गर्दा कुल वितरणयोग्य नाफा ५ अर्ब २५ करोड ७८ लाख रुपैयाँ पुगेको बैंकले जनाएको छ।

साधारण सेयरका आधारमा बैंकको प्रतिशेयर वितरणयोग्य नाफा ३८ रुपैयाँ ३२ पैसा रहेको छ।

वितरणयोग्य नाफा र प्रतिशेयर वितरणयोग्य आम्दानी बलियो रहे पनि बैंकले प्रस्ताव गरेको १५ प्रतिशत कुल लाभांश राष्ट्र बैंकको स्वीकृति र साधारण सभाको निर्णयपछि मात्रै सेयरधनीको हातमा पुग्नेछ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ