+
Search

ताजा अपडेट +

पपुलर +

सञ्चारमन्त्रीको चेतावनीपछि चलचित्र बोर्डकी अध्यक्ष निकिताले दिइन् राजीनामा

पालिका लाइभ
२०७५ माघ २२, मंगलवार

काठमाडौं- नेपाल चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलले राजीनामा दिएकी छन्। गत आइतबार मन्त्रालयको बैठकमा अनुपस्थित भएपछि मन्त्री बास्कोटाले कारबाही गर्ने चेतावनी दिएका थिए । सोही कारणले कारबाहीमा पर्नुभन्दा अगाडि राजीनामा दिएकी हुन्।

पौडेलले माघ २३ गतेबाट लागू हुनेगरी राजीनामा दिएकी हुन्। मंगलबार सामाजिक सञ्जाल फेसबुकमा आफूले राजीनामा राजीनमा दिएको बताएकी छन्। ‘व्यक्तिगत जीवनमा व्यस्त हुनुपर्ने कारणले राज्यको काममा कुनै बाधा नपारेस् भनी मैले यो निर्णय लिएकी हुँ,’ फेसबुकमा उनले लेखेकी छन्।

उनले विज्ञप्तिमा नेपाली चलचित्र क्षेत्रको इतिहासमा पहिलो पटक बक्स अफिस प्रणालीको सुरुवात गर्ने अवसर आफूलाई प्राप्त हुनु र बोर्डकै पहिलो महिला अध्यक्ष हुन पाउनु आफ्नो लागि अवसर रहेको बताएकी छन् ।

राजीनामासँगै उनले आफूले पछिल्लो तीन महिनामा प्राप्त गरेको तलब रवि लामिछानेको संयोजकत्वमा बन्दै गरेको कालिकोटको रास्कोट अस्पताललाई दिने जनाएकी छिन् ।

उनी लेख्छिन्, ‘नेपाल सरकारबाट मैले प्राप्त गरेको पछिल्लो ३ महिनाको आफ्नो सम्पूर्ण तलबबापतको रकम मेरा श्रीमान रवि लामिछानेको संयोजकत्वमा निर्माण हुँदै गरेको रास्कोट सामुदायिक अस्पताललाई दिन चाहन्छु । योसँगै अबको मेरो अधिकतम समय दुर्गम कालिकोटमा निर्माण हुने रास्कोट सामुदायिक अस्पतालका लागि समर्पित गर्ने कुराको पनि जानकारी गराउँदछु ।’

पौडेल २०७४ मंसिर २५ गते बोर्डको अध्यक्षमा नियुक्त भएकी थिइन्। केही दिनअघि मात्र निकिताले सञ्चारकर्मी तथा पत्रकार रवि लामिछानेसँग विवाह गरेकी थिइन्। 

 

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ