गोरखा– नेपालकै ठुला गुफामध्ये एक मानिने सीता गुफा यतिखेर प्रचार–प्रसारको अभावमा ओझेलमा परेको छ। धार्मिक, ऐतिहासिक, सांस्कृतिक तथा पर्यटकीय महत्त्व बोकेको यस गुफा सरोकारवाला निकायको आवश्यक ध्यान पुग्न नसक्दा उचित रूपमा चिनिन सकेको छैन।
सीता गुफा गोरखाको उत्तरी भेगमा पर्ने बारपाक–सुलिकोट गाउँपालिका–३ स्वाँरा बुङ्दुल क्षेत्रमा अवस्थित छ। स्थानीय भाषामा ‘छ्य’ अर्थात् शिक्षा वा ज्ञान र ‘ता’ अर्थात् ग्रहण गर्नु वा लिनु भन्ने अर्थ लाग्ने भएकाले पहिले यस गुफालाई ज्ञान प्राप्त गर्ने स्थानका रूपमा चिनिन्थ्यो। पुराना कथन अनुसार तमु धर्मगुरुहरू यहाँ ध्यान गरेर ज्ञान प्राप्त गर्ने गर्दथे, जसका कारण यस गुफालाई विशेष धार्मिक महत्त्वका साथ हेर्ने गरिन्थ्यो। समयसँगै भने यो गुफा सीता गुफाको नामले परिचित हुँदै आएको छ।
गुफाभित्र प्रवेश गर्दा प्रकृतिले सिर्जना गरेका अनेक आकर्षक आकृतिहरू देख्न सकिन्छ। गाइको थुन जस्तै देखिने ढुंगाको बनावट, मौरीको चाकाजस्तो संरचना, बाघको छालाजस्तो आकृति लगायतका दृश्यले गुफालाई झनै रोचक बनाएको छ। यस्ता प्राकृतिक संरचनाले गुफाको धार्मिक र पर्यटकीय आकर्षणलाई थप बढाएका छन्। स्थानीयवासीहरूको सक्रियतामा हरेक वर्ष रामनवमीका अवसरमा यहाँ मेला लाग्ने गर्दछ। तर त्यो बाहेक वर्षभरि यस गुफाको प्रचारप्रसार र व्यवस्थापनका लागि खासै पहल भएको देखिँदैन।
रामनवमीको समयमा गुफा वरपरको वातावरण झनै आकर्षक देखिन्छ। त्यस बेला आसपासका जंगलमा गुराँस फुलेर राताम्य हुने दृश्यले यहाँ आउने आगन्तुकलाई लोभ्याउने गर्दछ। साथै काफल, तिँदु, ऐसेलु, मच्चिनु र चुत्रोजस्ता जंगली फलहरू पनि प्रशस्त पाइने भएकाले प्राकृतिक स्वाद लिन चाहनेहरूका लागि पनि यो क्षेत्र उपयुक्त मानिन्छ।
गुफाको आसपासबाट विभिन्न रमणीय स्थानहरूको दृश्यावलोकन पनि गर्न सकिन्छ। यहाँबाट उत्तरतर्फ धार्चे लेक, पश्चिमतर्फ सौरपानीका थानिथान, पूर्वतर्फ बजेनी ताल र दिदी–बहिनी डाँडा तथा दक्षिणतर्फ ताकुकोटको माईस्थान र रानीमूल क्षेत्रका मनमोहक दृश्य देख्न सकिन्छ। यी सबै दृश्यले यस क्षेत्रलाई प्राकृतिक सौन्दर्यले भरिपूर्ण पर्यटकीय गन्तव्य बनाउने सम्भावना देखाउँछन्।
यद्यपि यति धेरै सम्भावना हुँदाहुँदै पनि सीता गुफा प्रचारप्रसारको अभावमा ओझेलमा परेको स्थानीयवासी बताउँछन्। स्वाँरा क्षेत्रमा अवस्थित यस ऐतिहासिक गुफा भेटिएको करिब दुई सय वर्ष बितिसक्दा पनि यसको उचित संरक्षण र प्रवर्द्धन हुन सकेको छैन। स्थानीयवासी र पर्यटनसँग सम्बन्धित निकायको बेवास्ताका कारण यसको महत्त्व राष्ट्रिय स्तरमा उजागर हुन नसकेको गुनासो गरिन्छ।
जिल्ला सदरमुकामबाट करिब ३० माइल उत्तरमा पर्ने यो गुफा धार्मिक कथनसँग पनि जोडिएको छ। स्थानीय जानकारका अनुसार त्रेतायुगमा राम र सीताको मनमुटाव भएपछि सीता भाग्दै जाँदा बग्दुल गाउँको जंगलमा पुगेकी थिइन्। त्यस बेला सीताले ‘यदि म सत्य छु भने धर्ती फाटोस्, रामले पछ्याइरहेका छन्’ भनेर प्रार्थना गरेपछि धर्ती चिरिएर गुफा बनेको भन्ने धार्मिक कथा प्रचलित छ। यही कथासँग जोडिएर गुफालाई सीता गुफा भनिएको स्थानीयवासी बुद्धि गुरुङ बताउँछन्।

गुफाको संरचना पनि रोचक रहेको बताइन्छ। करिब दुई फिट चौडाइ र करिब ४० फिट उचाइ भएको यस गुफा स्वाँरा क्षेत्रदेखि आरुचनौटे क्षेत्रको गण्डकी नदी किनारसम्म फैलिएको हुन सक्ने अनुमान स्थानीयहरूले गरेका छन्। गुफाको वास्तविक लम्बाइ भने अहिलेसम्म वैज्ञानिक रूपमा नापिएको छैन।
स्थानीयवासीका अनुसार गुफाको सुरुवाती भागबाट करिब तीन घण्टासम्म मानिस हिँडेर भित्र जान सकिन्छ। तर त्यसपछि गुफा साँघुरो हुँदै जाने भएकाले मानिस सहज रूपमा छिर्न सक्दैनन्। त्यसैले गुफाको अन्तिम भागसम्म पुग्न नसकिएको र यसको वास्तविक लम्बाइ अझै रहस्यकै रूपमा रहेको बताइन्छ। यदि यसको पूर्ण मापन गर्न सकिएमा नेपालकै सबैभन्दा लामो गुफामध्ये एक हुन सक्ने स्थानीयहरूको अनुमान छ।
गुफाभित्र विभिन्न धार्मिक आकृतिहरू पनि देखिने बताइन्छ। कामधेनु गाईको थुन जस्तै देखिने ढुंगाको बनावट, पाप र धर्मको गौडा, शिवजीको ढुंगाको मूर्ति, हनुमानको टाउकोजस्तो आकृति, बाघको छालाजस्तो संरचना, राम र सीताको आकृति तथा प्राकृतिक पानीको धारा जस्ता दृश्यले गुफालाई धार्मिक तथा सांस्कृतिक दृष्टिले पनि महत्त्वपूर्ण बनाएको छ।
स्थानीय धामी बरामका अनुसार गोरखाको स्वाँरा क्षेत्रमा रहेको सीता गुफा लम्बाइ र आकारका हिसाबले तनहुँमा रहेको प्रसिद्ध सिद्ध गुफाभन्दा पनि ठुलो हुन सक्ने सम्भावना रहेको छ। तर यसको आधिकारिक अध्ययन र मापन नभएकाले त्यसबारे ठोस निष्कर्ष भने निकालिएको छैन।
स्थानीयवासीहरूका अनुसार यदि यस गुफालाई पर्यटकीय पदमार्गमा समेटेर उचित व्यवस्थापन, संरक्षण र प्रचारप्रसार गर्न सकिएमा बारपाक–सुलिकोट गाउँपालिका मात्र होइन, समग्र गोरखा जिल्लाकै महत्त्वपूर्ण पर्यटकीय पहिचानका रूपमा विकास गर्न सकिन्छ। धार्मिक, सांस्कृतिक र प्राकृतिक सम्पदाको समुचित उपयोग गर्न सके यस क्षेत्रको आर्थिक गतिविधि बढ्नुका साथै स्थानीय बासिन्दाको आयआर्जनमा पनि सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ।
प्रतिक्रिया