काठमाडौं– नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै अधिकांश वित्तीय सूचकमा उल्लेखनीय सुधार हासिल गरेको जनाएको छ। बैंकले खुद नाफा, सञ्चालन नाफा, निक्षेप, कर्जा प्रवाह तथा वितरणयोग्य मुनाफामा सन्तोषजनक वृद्धि गरेको छ।
सार्वजनिक विवरणअनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको ५ अर्ब ९२ करोड २१ लाख रुपैयाँबाट ३३.५० प्रतिशत वृद्धि भई ७ अर्ब ९० करोड ५७ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, खुद ब्याज आम्दानी पनि १६ अर्ब ३२ करोड रुपैयाँबाट बढेर १७ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ।
बैंकको नाफा वृद्धिमा कर्जा नोक्सानी व्यवस्था (इम्पेरमेन्ट चार्ज) उल्लेखनीय रूपमा घट्नु मुख्य कारण बनेको छ। अघिल्लो आर्थिक वर्षमा ४ अर्ब २० करोड रुपैयाँ रहेको इम्पेरमेन्ट चार्ज समीक्षा अवधिमा घटेर २ अर्ब ६७ करोड रुपैयाँ मा सीमित भएको छ। यससँगै सञ्चालन नाफा पनि २५.२२ प्रतिशतले वृद्धि भई ११ अर्ब ५६ करोड ४५ लाख रुपैयाँ पुगेको छ।

बैंकले लाभांश वितरणका लागि पनि बलियो आधार तयार गरेको जनाएको छ। नियामकीय समायोजनपछि असार मसान्तसम्म बैंकको खुद वितरणयोग्य नाफा ४ अर्ब ६९ करोड रुपैयाँ रहेको छ। अघिल्लो आर्थिक वर्षको सञ्चित मुनाफासहित कुल वितरणयोग्य नाफा ५ अर्ब १६ करोड ९१ लाख रुपैयाँ पुगेको छ। यसअनुसार प्रतिशेयर वितरणयोग्य नाफा १९ रुपैयाँ १० पैसा कायम भएको बैंकले जनाएको छ।
वित्तीय विवरणअनुसार बैंकको कुल सम्पत्ति १५.३८ प्रतिशतले वृद्धि भई ७ खर्ब ३४ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ। बैंकको चुक्ता पूँजी ३२ अर्ब ५ करोड ६९ लाख रुपैयाँ रहेको छ, जसमा ५ अर्ब रुपैयाँ बराबरको ८ प्रतिशत अविमोच्य असञ्चिती अग्राधिकार शेयर समेत समावेश छ। सञ्चित नाफा र अन्य जगेडा कोषसहित बैंकको कुल इक्विटी ७१ अर्ब ९० करोड ६५ लाख रुपैयाँ पुगेको छ।
ग्राहकहरूको विश्वास पनि निरन्तर बढिरहेको देखिएको छ। समीक्षा अवधिमा बैंकको निक्षेप १२.९५ प्रतिशतले वृद्धि भई ५ खर्ब ९२ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ भने कर्जा प्रवाह १२ प्रतिशतले वृद्धि हुँदै ४ खर्ब ६० अर्ब ३१ करोड रुपैयाँ पुगेको छ।
समग्र वित्तीय सूचकहरूमा सुधारसँगै बैंकको खराब कर्जा ४.२० प्रतिशत मा झरेको छ भने नेट एनपीएल ०.५८ प्रतिशत मा सीमित भएको छ। त्यस्तै, प्रतिशेयर आम्दानी (EPS) २८ रुपैयाँ ३६ पैसा पुगेको छ।
बैंकको वित्तीय अवस्था, नाफा वृद्धिदर तथा वितरणयोग्य मुनाफाको आकारलाई हेर्दा आगामी वार्षिक साधारण सभामार्फत शेयरधनीले आकर्षक लाभांश प्राप्त गर्ने अपेक्षा बलियो बनेको विश्लेषण गरिएको छ।
प्रतिक्रिया