+
Search

ताजा अपडेट +

पपुलर +

अशान्तिले घरेलु तथा साना उद्योग धरापमा पर्ने महासंघको चिन्ता, शान्तिपूर्ण समाधानमा जोड

पालिका लाइभ
२०८३ श्रावण १७, आईतवार

काठमाडौं– तराईका विभिन्न जिल्लामा देखिएको अशान्तिले घरेलु तथा साना उद्योग धरापमा पर्न सक्ने भन्दै नेपाल घरेलु तथा साना उद्योग महासंघले शान्ति–सुरक्षा कायम गर्न सरकार र सरोकारवालासँग आग्रह गरेको छ।

महासंघले सुनसरीको देवानगञ्ज–कप्तानगञ्जसहित तराईका विभिन्न जिल्लामा पछिल्ला दिनमा विकसित तनावपूर्ण अवस्था, सामाजिक अशान्ति तथा हिंसात्मक घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै शान्ति, सामाजिक सद्भाव र आर्थिक गतिविधिको संरक्षणका लागि सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेको हाे।

शनिवार जारी प्रेस विज्ञप्तिमार्फत महासंघले घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।

महासंघले सीमित पूँजी, स्थानीय बजार र दैनिक कारोबारमा निर्भर रहने घरेलु तथा साना उद्योग अशान्ति, बन्द, तोडफोड र बजार अवरोधबाट सबैभन्दा बढी प्रभावित हुने जनाएको छ। यस्ता घटनाले उद्यमीहरूको आत्मविश्वास कमजोर बनाउनुका साथै उत्पादन, आपूर्ति प्रणाली र समग्र आर्थिक गतिविधिमा प्रत्यक्ष असर पर्ने उल्लेख गरिएको छ।

विज्ञप्तिमा नेपाल विविध जातजाति, भाषा, धर्म र संस्कृतिको साझा पहिचान बोकेको मुलुक भएकाले सामाजिक सद्भाव, सहिष्णुता र आपसी विश्वास राष्ट्रिय स्थायित्व तथा आर्थिक समृद्धिको आधार रहेको उल्लेख गरिएको छ। हिंसात्मक घटनाले घरेलु तथा साना उद्योग, स्थानीय उत्पादन, व्यापार, पर्यटन तथा रोजगारीमा दीर्घकालीन नकारात्मक प्रभाव पार्ने महासंघको भनाइ छ।

महासंघले कुनै पनि समस्या वा मतभेदको समाधान हिंसा वा टकरावबाट नभई संविधान, कानुन, संवाद र आपसी समझदारीका माध्यमबाट खोजिनुपर्नेमा जोड दिएको छ। सामाजिक तथा धार्मिक सद्भाव कायम राख्दै संयमता अपनाउन सबै सरोकारवालासँग आग्रह गरिएको छ।

महासंघले नेपाल सरकार, स्थानीय प्रशासन र सुरक्षा निकायसँग प्रभावित क्षेत्रमा प्रभावकारी शान्ति–सुरक्षाको व्यवस्था गर्न, उद्योग–व्यवसाय र सर्वसाधारणको जनधनको सुरक्षा सुनिश्चित गर्न तथा आर्थिक गतिविधि निर्बाध रूपमा सञ्चालन हुने वातावरण तत्काल निर्माण गर्न माग गरेको छ।

साथै सामाजिक सञ्जाललगायत विभिन्न माध्यमबाट फैलाइने अफवाह, भ्रामक सूचना र उत्तेजना अभिव्यक्तिप्रति सचेत रहन नागरिक, राजनीतिक दल, नागरिक समाज, धार्मिक अगुवा, सञ्चारमाध्यम तथा निजी क्षेत्रलाई आह्वान गर्दै राष्ट्रिय एकता, सामाजिक सद्भाव र आपसी विश्वासलाई थप सुदृढ बनाउन आग्रह गरेको छ।

महासंघले शान्तिपूर्ण, सुरक्षित र व्यवसायमैत्री वातावरण निर्माणका लागि सरकार, निजी क्षेत्र तथा सबै सरोकारवालासँग सहकार्य गर्न आफू सदैव प्रतिबद्ध रहेको जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ