काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाल टेलिकमको सेवा पहुँच र गुणस्तर सुधारका लागि देखिएका समस्या तत्काल समाधान गर्न तथा सम्भव भएसम्म सबै टेलिकम टावरमा भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।
सञ्चार मन्त्रालयमा बिहीबार आयोजित अन्तरनिकाय छलफलमा मन्त्री तिमिल्सिनाले नेपाल टेलिकम, नेपाल विद्युत् प्राधिकरण र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीच प्रभावकारी समन्वय गरी स्पष्ट कार्ययोजनासहित अघि बढ्न आग्रह गरेका हुन्।
छलफलमा नेपाल टेलिकमकी प्रबन्धनिर्देशक संगीता पहाडी, नेपाल विद्युत् प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख राजन ढकाल, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकाललगायत सहभागी थिए।
छलफलमा नेपाल टेलिकमका बेस ट्रान्ससिभर स्टेसन (बीटीएस), टावर तथा अन्य दूरसञ्चार उपकरणमा भरपर्दो विद्युत् आपूर्ति नहुँदा देशका विभिन्न क्षेत्रमा टेलिफोन र इन्टरनेट सेवा प्रभावित भएको विषयमा समीक्षा गरिएको थियो।
मन्त्री तिमिल्सिनाले गुणस्तरीय र भरपर्दो दूरसञ्चार सेवा उपलब्ध गराउनु सरकारको दायित्व भएको उल्लेख गर्दै समस्या पहिचानमै सीमित नभई नतिजामुखी ढंगले काम गर्न निर्देशन दिए। उनले टेलिकमका टावरमा विद्युत् पहुँच विस्तारका लागि सम्बन्धित निकायबीच स्थायी समन्वय संयन्त्र बनाउन र नियमित रूपमा सम्पर्क व्यक्ति तोकेर काम गर्न आग्रह गरे।
उनले विद्युत् नपुगेका टेलिकम टावरहरूको विवरण नेपाल विद्युत् प्राधिकरणलाई उपलब्ध गराई प्राथमिकताका आधारमा राष्ट्रिय प्रसारण लाइन विस्तार गर्नुपर्ने बताए। विद्युत् पुगेका क्षेत्रमा पनि कम भोल्टेजका कारण सेवा प्रभावित हुने समस्या समाधान गर्न वितरण प्रणालीको क्षमता विस्तार गर्नुपर्नेमा उनले जोड दिए।
मन्त्री तिमिल्सिनाले फोरजी सेवाको गुणस्तर सुधार गर्दै क्रमशः फाइभजी सेवाका लागि आवश्यक पूर्वाधार निर्माणमा तीव्रता दिन र दुर्गम तथा ग्रामीण क्षेत्रमा दूरसञ्चार सेवा विस्तारका लागि ग्रामीण दूरसञ्चार विकास कोष (आरटिडिएफ) प्रभावकारी रूपमा परिचालन गर्न पनि निर्देशन दिए। साथै काठमाडौं उपत्यकासहित प्रमुख सहरमा अव्यवस्थित रूपमा झुन्डिएका तार व्यवस्थापनमा सम्बन्धित निकायबीच सहकार्य आवश्यक रहेको बताए।
नेपाल टेलिकमकी प्रबन्धनिर्देशक संगीता पहाडीले विद्युत् पहुँचको अभाव दुर्गम क्षेत्रमा दूरसञ्चार सेवा विस्तारको प्रमुख चुनौती बनेको बताइन्। उनका अनुसार हाल टेलिकमका ३१६ टावर राष्ट्रिय प्रसारण लाइनबाट विद्युत् नपाई सौर्य ऊर्जाको भरमा सञ्चालन भइरहेका छन्।
उनले टेलिकमले करिब दुई हजार नयाँ टावर निर्माण गर्ने योजना अघि बढाएको र तीमध्ये करिब १४ सय टावरमा नयाँ विद्युत् लाइन विस्तार गर्नुपर्ने आवश्यकता रहेको जानकारी दिइन्। सञ्चालनमा रहेका कतिपय टावरमा पनि कम भोल्टेजका कारण उपकरण पूर्ण क्षमतामा सञ्चालन हुन नसकेको भन्दै नयाँ साइटमा विद्युत् जडान, पुराना साइटमा भरपर्दो आपूर्ति र भोल्टेज क्षमता विस्तार आवश्यक रहेको बताइन्।
नेपाल विद्युत् प्राधिकरणका प्रतिनिधिले टेलिकमका टावरमा विद्युत् पहुँच विस्तार गर्न आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउँदै आगामी दिनमा नयाँ टावर निर्माण र विद्युत् पूर्वाधार विस्तारलाई संयुक्त योजनामार्फत अघि बढाइने बताए। कम भोल्टेजको समस्या समाधानका लागि प्रसारण तथा वितरण प्रणालीको क्षमता विस्तारलाई प्राथमिकतामा राखिने पनि उनीहरूको भनाइ थियो।
वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले राष्ट्रिय प्रसारण लाइन पुर्याउन कठिन हुने दुर्गम क्षेत्रमा लघुजलविद्युत् र सौर्य ऊर्जामार्फत टेलिकम टावरमा विद्युत् उपलब्ध गराउन केन्द्रले आवश्यक सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे।
प्रतिक्रिया