+
Search

ताजा अपडेट +

पपुलर +

चुमनुब्री गाउँपालिकाले ल्यायो ४५ करोडको बजेट, आन्तरिक आय लक्ष्यभन्दा बढी

पालिका लाइभ
२०८३ असार १३, शनिबार

गोरखा– चुमनुब्री गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि ४५ करोड ५९ लाख १६ हजार ८ सय ४० रुपैयाँ बराबरको वार्षिक बजेट सार्वजनिक गरेको छ। उपाध्यक्ष लक्ष्मी गुरुङले असार ९ गते बसेको गाउँसभाको बैठकमा आगामी आर्थिक वर्षको बजेट वक्तव्य प्रस्तुत गरेकी हुन्।

‘दिगो विकास, अनुपम संस्कृति, उन्नत पर्यटन : समृद्ध चुमनुब्री’ भन्ने दीर्घकालीन सोचलाई आधार बनाउँदै गाउँपालिकाले पर्यटन प्रवर्द्धन, पूर्वाधार विकास, सामाजिक सेवा र स्थानीय आर्थिक गतिविधि विस्तारलाई प्राथमिकतामा राखेर बजेट निर्माण गरेको जनाएको छ।

कुल बजेटमध्ये चालुतर्फ २८ करोड ६७ लाख ७८ हजार रुपैयाँ र पुँजीगततर्फ १६ करोड ९१ लाख ३८ हजार ८ सय ४० रुपैयाँ विनियोजन गरिएको छ।

पर्यटन क्षेत्रलाई गाउँपालिकाले मुख्य प्राथमिकतामा राखेको छ। चुमनुब्री क्षेत्रका पदमार्गहरूको स्तरोन्नति गरी सुरक्षित र गुणस्तरीय पदमार्ग निर्माण गर्न पर्यटन बोर्डसँग लागत साझेदारी गर्ने गरी ४० लाख रुपैयाँ बजेट छुटाइएको छ। गाउँपालिकाले विदेशी तथा तोकिएका स्वदेशी पर्यटकबाट लिँदै आएको पर्यटन शुल्क प्रणालीलाई आगामी वर्ष पनि निरन्तरता दिएकाे छ।

पूर्वाधार विकासतर्फ गाउँपालिकाको प्रशासकीय भवन निर्माणलाई निरन्तरता दिन १ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ। दुर्गम भौगोलिक अवस्था रहेको चुमनुब्रीमा सेवा प्रवाह सहज बनाउन आवश्यक पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको गाउँपालिकाले जनाएको छ।

कृषि तथा पशुपालन क्षेत्रको विकासका लागि कृषकलाई बीउबिजन, कृषि औजार, प्रविधि र तालिम उपलब्ध गराउने उद्देश्यले ८ लाख रुपैयाँ बजेट छुटाइएको छ। स्थानीय उत्पादन वृद्धि र कृषकको आयआर्जन सुधार गर्ने लक्ष्यसहित कृषि तथा पशुपालन व्यवसाय प्रवर्द्धन गरिनेछ।

सामाजिक विकासतर्फ महिला, बालबालिका, ज्येष्ठ नागरिक, अशक्त तथा अपाङ्गता भएका व्यक्तिहरूका लागि सहायता तथा सम्मान कार्यक्रम सञ्चालन गरिनेछ। बाल विवाह, बहुविवाहलगायत सामाजिक कुरीति न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न समेत बजेट व्यवस्था गरिएको छ।

शिक्षा क्षेत्रमा विद्यार्थीलाई थप अवसर सिर्जना गर्ने उद्देश्यले गाउँपालिकाको तर्फबाट छात्रावास कोटा सुविधाका लागि एकमुष्ट ५० लाख रुपैयाँ विनियोजन गरिएको छ।

विपद् व्यवस्थापनतर्फ प्राकृतिक विपत्तिबाट सिर्जित समस्या समाधान तथा उद्धारका लागि प्रकोप व्यवस्थापन कोषमा ३५ लाख रुपैयाँ छुटाइएको छ। रोजगारी सिर्जना कार्यक्रमका लागि ३० लाख रुपैयाँ लागत साझेदारी र उद्यमशीलता विकासका लागि गाउँपालिकाको तर्फबाट २२ लाख रुपैयाँ लागत साझेदारी गरिने भएको छ।

यसैबीच गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को राजस्व तथा बजेट कार्यान्वयन अवस्थाको समीक्षा गर्दै कुल ४७ करोड ४९ लाख ९८ हजार रुपैयाँ राजस्व परिचालन हुने अनुमान गरिएकोमा हालसम्म ४५ करोड २५ लाख ९० हजार रुपैयाँ निकासा प्राप्त भएको जनाएको छ।

आन्तरिक आयतर्फ १ करोड ५८ लाख ६० हजार रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएकोमा हालसम्म २ करोड ६ लाख २२ हजार रुपैयाँ संकलन भइसकेको गाउँपालिकाले जनाएको छ। लक्ष्यभन्दा बढी आन्तरिक आय संकलन भएपछि आगामी वर्ष कर तथा गैरकर राजस्व प्रणालीलाई थप व्यवस्थित बनाउने नीति लिइएको छ।

गाउँपालिकाले आर्थिक रूपमा विपन्न, अशक्त, ज्येष्ठ नागरिक, दलित तथा एकल महिलामैत्री कर प्रणाली विकास गर्ने र गाउँपालिका क्षेत्रभित्र सञ्चालन हुने सबै व्यापार व्यवसायलाई करको दायरामा ल्याउने जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ