गोरखा– संघीय सरकारले वैशाख १५ गतेदेखि मात्र विद्यार्थी भर्ना अभियान सञ्चालन गर्नुपर्ने भनी जारी गरेको परिपत्रप्रति असहमति जनाउँदै गोरखा जिल्लाका स्थानीय तहहरूले विद्यालय भर्ना प्रक्रिया यथाशीघ्र सुरु गर्न आग्रह गरेका छन्।
जिल्ला समन्वय समिति गोरखाका अध्यक्ष मोहन बहादुर थापा मगरको अध्यक्षतामा बसेको जिल्लाका ११ वटै स्थानीय तहका प्रमुखहरूको बैठकले आगामी वैशाख ७ गतेदेखि विद्यालय सञ्चालन गर्ने निर्णय गर्दै सोहीअनुसार भर्ना अभियान अघि बढाउन सबै विद्यालयलाई निर्देशन दिएको हो।
स्थानीय तहहरूले संघीय परिपत्रभन्दा स्थानीय आवश्यकता र यथार्थलाई प्राथमिकतामा राख्दै शिक्षा क्षेत्रलाई समयमै सञ्चालन गर्न यस्तो निर्णय लिएको जनाएका छन्।
पालुङटार नगरपालिकाका मेयर विवश चिन्तनले पनि स्थानीय तहहरू शिक्षा क्षेत्रप्रति जिम्मेवार रहेको उल्लेख गरे। उनले भने, ‘शिक्षा क्षेत्रलाई प्रभावित हुन नदिन समयमै कदम चाल्नु आवश्यक थियो। स्थानीय तहहरूले आफ्नो जिम्मेवारीअनुसार निर्णय गरेका छन्।’
अजिरकोट गाउँपालिकाका अध्यक्ष दीपक देवकोटाले विद्यार्थीहरूको हितलाई केन्द्रमा राख्दै समयमै भर्ना तथा पठनपाठन सुरु गर्नुपर्ने बताए। उनले भने, ‘स्थानीय तहको अधिकार प्रयोग गर्दै हामीले समयमै विद्यालय सञ्चालन गर्ने निर्णय गरेका हौँ। यसले शिक्षा क्षेत्रलाई व्यवस्थित र गतिशील बनाउन मद्दत पुग्नेछ।’
त्यसैगरी सहिद लखन थापा गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापाले शैक्षिक क्षति न्यूनीकरणका लागि ढिलाइ गर्न नहुने उल्लेख गर्दै भने ‘विद्यार्थीहरूको भविष्यसँग जोडिएको विषय भएकाले भर्ना र पठनपाठन ढिला गर्नु उपयुक्त हुँदैन। त्यसैले समयमै निर्णय गरिएको हो।’
यसैबीच नेपाल नगरपालिका संघ र गाउँपालिका महासंघ नेपालले पनि विज्ञप्ति जारी गर्दै देशभरका स्थानीय तहलाई विद्यार्थी भर्ना तथा पठनपाठनका कार्यक्रम अघि बढाउन आग्रह गरेका छन्।
स्थानीय तहहरूले सम्बन्धित सबै विद्यालयलाई आवश्यक तयारी पूरा गरी विद्यार्थी भर्ना अभियान तत्काल सुरु गर्न तथा पठनपाठन नियमित रूपमा सञ्चालन गर्नसमेत अनुरोध गरेका छन्।

प्रतिक्रिया