+
Search

ताजा अपडेट +

पपुलर +

इम्पेरमेन्ट चार्जले एनएमबी बैंकको नाफा घट्यो, खराब कर्जा बढ्यो

पालिका लाइभ
२०८२ माघ १५, बिहीबार

काठमाडौं– एनएमबी बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको खुद ब्याज आम्दानी र कुल सञ्चालन आम्दानी बढे पनि उच्च इम्पेरमेन्ट चार्जका कारण खुद नाफा भने घट्न पुगेको छ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा बैंकले १ अर्ब ६४ करोड ८६ लाख १३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १७.७१ प्रतिशत कम हो। गत वर्षको यसै अवधिमा बैंकले २ अर्ब ३५ लाख ४० हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १२.१८ प्रतिशतले बढेर ४ अर्ब ७७ करोड १४ लाख ७६ हजार रुपैयाँ पुगेको छ। यस्तै खुद फि तथा कमिशन आम्दानी २१.१७ प्रतिशतले वृद्धि भई १ अर्ब ३४ करोड २९ लाख ८१ हजार रुपैयाँ पुगेको छ। यससँगै बैंकको कुल सञ्चालन आम्दानी १५.२१ प्रतिशतले बढेर ६ अर्ब ५४ करोड ९२ लाख १२ हजार रुपैयाँ पुगेको छ।

तर, उच्च इम्पेरमेन्ट चार्जका कारण बैंकको सञ्चालन मुनाफा भने १५.२९ प्रतिशतले घटेर २ अर्ब ५० करोड ९९ लाख ६८ हजार रुपैयाँमा सीमित भएको छ। बैंकको इम्पेरमेन्ट चार्ज अघिल्लो वर्षको ३४ करोड ४७ लाख रुपैयाँबाट उल्लेख्य बढेर १ अर्ब ५५ करोड २२ लाख रुपैयाँ पुगेको छ। यसै कारण खुद नाफामा दबाब परेको हो।

यस अवधिमा बैंकको खराब कर्जा अनुपात पनि ३.९६ प्रतिशतबाट बढेर ४.५६ प्रतिशत पुगेको छ। पुस मसान्तसम्म बैंकको वितरणयोग्य मुनाफा ५६ करोड ४३ लाख १३ हजार रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी ५ रुपैयाँ ८५ पैसा रहेको छ।

नाफा घटेसँगै बैंकको प्रतिशेयर आम्दानी ३ रुपैयाँ ६८ पैसाले घटेर १७ रुपैयाँ १० पैसामा सीमित भएको छ। बैंकको प्रतिशेयर नेटवर्थ १६८ रुपैयाँ ७५ पैसा रहेको छ भने मूल्य–आम्दानी अनुपात १३.९८ गुणा रहेको छ।

१९ अर्ब २८ करोड ५० लाख रुपैयाँ चुक्ता पूँजी रहेको एनएमबी बैंकको जगेडा कोषमा १२ अर्ब ८१ करोड २५ लाख रुपैयाँ सञ्चित छ। पुस मसान्तसम्म बैंकले २ खर्ब ९१ अर्ब ४४ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३९ अर्ब ४७ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ