काठमाडौं– नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले मंगलबारदेखि सुरु गरेको अटो शोमा बैंकहरूले गाडी कर्जामा छुटको प्रतिस्पर्धा देखाएका छन् ।
पछिल्ला वर्षहरूमा अर्थतन्त्र सुस्त भएपछि कर्जाको माग घटेको छ र त्यसकै कारण वित्तीय प्रणालीमा अधिक तरलता बढेको हो । नेपाल राष्ट्र बैंकका अनुसार मंगलबारसम्म बैंक तथा वित्तीय संस्थाको ६ खर्ब ५६ अर्ब बढी तरलता केन्द्रीय बैंकमा थुप्रिएको छ ।

यही अवस्थालाई ध्यानमा राख्दै चालु मौद्रिक नीतिले अटो कर्जामा केही लचकता दिएको छ ।
राष्ट्र बैंकले सवारीसाधन खरिद गर्न कर्जा प्रवाह गर्दा मूल्यको अधिकतम ६० प्रतिशतसम्म मात्र फाइनान्सिङ गर्न पाउने व्यवस्था गरेको छ । यसैबीच बैंकहरूले ब्याजदर र सेवा शुल्क घटाएर ग्राहक आकर्षित गर्ने प्रयास गरेका छन् । अधिकांश बैंकहरूले सेवा शुल्कमा ०.२५ प्रतिशत छुट दिएका छन् भने ब्याजदर ६ देखि ८ प्रतिशतको दायरामा प्रस्ताव गरेका छन् ।
नाडा अटो शोमा सहभागी बैंकहरूले विभिन्न अफर ल्याएका छन् ।

कृषि विकास बैंकले व्यक्तिगत विद्युतीय गाडीमा मूल्यको ६० र व्यावसायिक गाडीमा ८० प्रतिशतसम्म कर्जा दिने योजना ल्याएको छ, जसअन्तर्गत ६.२३ प्रतिशत ब्याजदरमै कर्जा पाइने जनाएको छ ।
ग्लोबल आइएमई बैंकले ६.९९ प्रतिशत ब्याजदर तोकेको छ भने लक्ष्मी सनराइज बैंकले ७ वर्षका लागि ७.९९ प्रतिशत फिक्स्ड ब्याजदरमा कर्जा दिने घोषणा गरेको छ । त्यस्तै सानिमा बैंक, हिमालयन बैंक, नबिल बैंक, नेपाल एसबीआई, एनएमबीलगायतका बैंकहरूले पनि विभिन्न छुट र ब्याजदर योजनासहित अटो लोनका अफर सार्वजनिक गरेका छन् ।

शोमा करिब आधा दर्जन वाणिज्य बैंकहरूले स्टल राखेर आफ्ना योजना प्रचार गरेका छन् । उनीहरूले सस्तो ब्याजदर र न्यून सेवा शुल्कमार्फत ग्राहकलाई गाडी कर्जा लिन प्रोत्साहित गर्ने प्रयास गरेका छन् । धेरै बैंकले गाडीको मूल्यको ६० प्रतिशतसम्म मात्र कर्जा दिने नीति लिएका छन् भने ब्याजदरमा फिक्स्ड र फ्लोटिङ दुवै विकल्प उपलब्ध गराएका छन् ।
यस पटकको नाडा अटो शोले बैंक तथा वित्तीय संस्थाबीच अटो लोनमा छुट दिने प्रतिस्पर्धालाई अझै बढाएको छ । अधिक तरलता भएका कारण बैंकहरूले कम ब्याजदरमै लगानी बढाउन खोज्दा ग्राहकलाई गाडी कर्जा लिन सहज भएको छ ।
प्रतिक्रिया