चितवन– माडी नगरपालिकाले प्लाष्टिकजन्य सामग्री प्रयोगमा प्रतिबन्ध लगाएको छ ।
पालिकाको ४३ औँ कार्यपालिका बैठकले वातावरण प्रदूषण नियन्त्रणका लागि प्लाष्टिकजन्य सामग्रीमा रोक लगाउने निर्णय गरेको हो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसालका अनुसार प्लाष्टिकजन्य वस्तुका कारण वातावरणदेखि मानव स्वास्थ्यमा समेत प्रभाव पारेकाले यसलाई रोक लगाएको हो ।
उनले भने ‘प्लाष्टिकजन्य वस्तु रोक लगाउँदा वातावरण स्वच्छ र हराभरा देखिन्छ ।’
उद्योग वाणिज्य संघ माडी शाखासँगका सहकार्यमा प्लाष्टिकजन्य वस्तुमा रोक लगाएको उनले बताए । उनले भने, ‘यस क्षेत्रमा प्लाष्टिकजन्य वस्तुको प्रयोग अत्याधिक भएकाले प्रतिबन्ध लगाउनु राम्रो काम हो ।’
बैठकले निर्णय गरेसँगै आकस्मिक अनुगमनदेखि समुदायमा सचेतना जगाउने लगायतका काम सुरु गरिएको उनले बताए । उनले भने ‘प्लाष्टिकजन्य झोला सहित गिलास र अन्य सामग्रीमा रोक लगाएका छौ ।’
वातावरण प्रदूषण नियन्त्रणसँगै समाजलाई यसको प्रयोगले हुने हानीका बारेमा नगरपालिकाले जानकारी गराउन लागेको छ ।
प्लाष्टिकको गिलासमा चिया बिक्री वितरण गर्ने र प्लाष्टिका सामग्री प्रयोग गर्ने गर्दा फोहोर व्यवस्थापनमा समेत समस्या भएकाले यसलाई रोकिएको उनले बताए । अहिले प्लाष्टिकजन्य वस्तु रोक्नका लागि संयुक्त अनुगमन सहितका कामहरू भइरहेको छ ।
नगरपालिकाका उपप्रमुख खेमप्रसाद महतोले माडीलाई प्लाष्टिकमुक्त नगरपालिका घोषणा गर्न लागिएको बताए ।
चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रले घेरिएको पालिका भएकाले प्लाष्टिकले वन्यजन्तुसँगै मानव स्वास्थ्यमा समेत असर गर्ने देखिएकाले प्लाष्टिकजन्य झोला र अन्य वस्तुहरूमा रोक लगाउन खोजिएको हो ।
प्लाष्टिकजन्य वस्तुले जमिनको उर्वराशक्तिमा समेत ह्रास ल्याउने हुँदा यसले माडीको इको प्रणालीमा समेत असर गर्ने देखेर रोक लगाएको उनले बताए ।
प्रतिक्रिया