काठमाडौं– एउटै कार्यालयमा लामो समयदेखि बस्दै आएका लेखा समूहका कर्मचारीको प्रभाव बढेको भन्दै मधेश प्रदेश सरकारले अर्थ मन्त्रालयअन्तर्गतका ७६ कर्मचारीको एकैपटक सरुवा गरेको छ ।
सरुवा हुनेमा २३ अधिकृत, ४३ लेखापाल र १० सहलेखापाल छन् । अधिकृततर्फ सातौँ तहका १८ र आठौँ तहका पाँच जना छन् ।
प्रदेश सरकारले आर्थिक प्रशासनलाई व्यवस्थित गर्न र लामो समय एउटै कार्यालयमा बसेका कर्मचारीको प्रभाव घटाउन सरुवा गरिएको जनाएको छ । अर्थमन्त्री युवराज भट्टराईले केही कर्मचारी लामो समय एउटै कार्यालयमा बसेर आफ्नो प्रभाव विस्तार गरेको अवस्था देखिएपछि सरुवाको निर्णय गरिएको बताए ।
‘लामो समयदेखि आफ्नो प्रभाव जमाएर एउटै स्थानमा बसिरहने र कार्यालयलाई कब्जा जस्तो बनाएर राख्ने अवस्था देखिएपछि सरुवा गरिएको हो,’ मन्त्री भट्टराईले भने । सरुवा सूचीअनुसार अधिकृत तहका कर्मचारीलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेश लेखा नियन्त्रक कार्यालय, विभिन्न मन्त्रालय, निर्देशनालय तथा जिल्लास्थित कार्यालयमा पठाइएको छ ।
४३ जना लेखापाललाई प्रदेशका विभिन्न मन्त्रालय, निर्देशनालय, प्रदेश लेखा इकाई कार्यालय तथा मातहतका कार्यालयमा खटाइएको छ । धनुषा, महोत्तरी, सिरहा, सर्लाही, रौतहट, बारा र पर्सालगायत जिल्लामा कार्यरत लेखापालको पनि कार्यस्थल परिवर्तन गरिएको छ ।
त्यस्तै, १० जना सहलेखापाललाई धनुषा, सिरहा, महोत्तरी, बारा र पर्सालगायत जिल्लाका विभिन्न कार्यालयमा पठाइएको छ ।
लामो समय एउटै कार्यालय वा जिल्लामा कार्यरत कर्मचारीको प्रभाव घटाउने भन्दै सरकारी निकायमा यसअघि पनि सामूहिक सरुवा हुँदै आएका छन् । मधेश प्रदेशमा भने लेखा समूहका ७६ कर्मचारीको एकैपटक सरुवा गरिएको यो निर्णयलाई लामो समय एउटै स्थानमा रहेका कर्मचारीको प्रभाव व्यवस्थापन गर्ने कदमका रूपमा हेरिएको छ ।
प्रतिक्रिया