+
Search

ताजा अपडेट +

पपुलर +

बाढी प्रभावित क्षेत्रमा एनटीसीको भ्वाइसकल, डाटा र एसएमएस नि:शुल्क

पालिका लाइभ
२०८३ भाद्र १०, बुधबार

काठमाडौं– भोटेकोशीमा आएको बाढीबाट प्रभावित क्षेत्रका बासिन्दाका लागि नेपाल टेलिकमले दुई दिनसम्म टेलिफोन, इन्टरनेट र एसएमएस सेवा निःशुल्क उपलब्ध गराउने भएको छ। बाढीका कारण रसुवाका दुई र नुवाकोटका पाँच गरी सातवटा टावरमा क्षति पुगेको प्रारम्भिक विवरण आएको टेलिकमले जनाएको छ।

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमल्सिनाले बाढीका कारण सञ्चार सेवा अवरुद्ध भएका क्षेत्रमा सेवा तत्काल सञ्चालनमा ल्याउन सम्बन्धित निकाय र सेवा प्रदायकलाई निर्देशन दिएका छन्।

मन्त्रीको निर्देशनपछि नेपाल टेलिकमले प्रभावित क्षेत्रका सेवाग्राहीलाई दुई दिनसम्म अनलिमिटेड भ्वाइस सेवा, प्रतिदिन २ जीबी डाटा र ५० वटा एसएमएस निःशुल्क उपलब्ध गराउने निर्णय गरेको टेलिकमका प्रवक्ता कमल लामिछानेले बताए।

बाढी प्रभावित क्षेत्रमा सञ्चार सम्पर्क सहज बनाउन सरकारले सेवा प्रदायकसँग समन्वय गरी काम गरिरहेको मन्त्री तिमल्सिनाले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्। प्रभावित जिल्लामा फोन सेवा निःशुल्क भइसकेको र डाटा सेवा पनि निःशुल्क उपलब्ध गराउने प्रक्रिया अघि बढाइएको उनले बताएका छन्।

बाढीका कारण रसुवाका दुई र नुवाकोटका पाँचवटा टावरमा क्षति पुगेको टेलिकमले जनाएको छ। टावर तथा अन्य सेवा पूर्वाधारको मर्मतसम्भारका लागि टेलिकमको प्राविधिक टोली प्रभावित क्षेत्रमा खटिएको छ।

बाढी प्रभावित क्षेत्रका सेवाग्राहीलाई सावधानी अपनाउन टेलिकमले एसएमएसमार्फत निरन्तर सूचना पठाइरहेको जनाएको छ।

बाढीका कारण कतिपय स्थानमा सञ्चार सम्पर्क अवरुद्ध भएपछि उद्धार, राहत तथा प्रभावित नागरिकसँग सम्पर्क कायम गर्न समस्या देखिएको छ। सञ्चार सेवा पुनः सञ्चालनका लागि प्रभावित क्षेत्रमा प्राविधिक टोली परिचालन गरिएको टेलिकमले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ