गोरखा– भीमसेन थापा गाउँपालिकास्थित घ्याम्पेसालमा निर्मित ३३/११ केभी सबस्टेसन चार्ज गरिएको छ।
लामो समयदेखि स्थानीय अवरोध तथा राइट अफ वेसम्बन्धी समस्याका कारण सञ्चालन गर्न नसकिएको उक्त सबस्टेसन चार्ज भएपछि उत्तरी गोरखाको विद्युत् आपूर्ति प्रणाली गुणस्तरीय र भरपर्दो हुने अपेक्षा गरिएको छ।
नेपाल विद्युत् प्राधिकरण, आयोजना व्यवस्थापन निर्देशनालय, वितरण प्रणाली सुदृढीकरण तथा विस्तार आयोजनाबाट एसियाली विकास बैंक र नेपाल सरकारको संयुक्त लगानीमा उक्त आयोजना सञ्चालन गरिएको हो।
लामो समयदेखि स्थानीयस्तरमा उत्पन्न अवरोधका कारण सञ्चालन हुन नसकेको सबस्टेसन सञ्चालन भएपछि उत्तरी गोरखाका जनताले ठुलो लाभ प्राप्त गर्ने नेपाल विद्युत् प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले बताए।
उनले भने, ‘लामो समयदेखि स्थानीयबाट अवरुद्ध भएको यो सबस्टेसन सञ्चालनमा आएपछि उत्तरी गोरखाका ६ वटा गाउँपालिकाका १५ हजार जनताले भरपर्दो र गुणस्तरीय विद्युत् सेवा प्राप्त गर्नेछन्। साथै यस क्षेत्रमा निर्माणाधीन बारपाक दरौँदी हाइड्रोपावर आयोजनाबाट उत्पादन हुने १० मेगावाट विद्युत्समेत यसै सबस्टेसनका माध्यमबाट नेपाल विद्युत् प्राधिकरणको प्रणालीमा जोडिने छ।’
घ्याम्पेसाल ३३/११ केभी सबस्टेसन सञ्चालनले उत्तरी गोरखाको विद्युत् आपूर्तिमा नयाँ अध्याय थप्दै स्थानीय जनताको भरपर्दो विद्युत् सेवाको लामो समयदेखिको अपेक्षा पूरा भएको छ।
यो सबस्टेसन पूर्ण रूपमा सञ्चालन भएपछि गोरखा जिल्लाका उत्तरी भेगमा बासिन्दाले भरपर्दो र गुणस्तरीय विद्युत् सेवा उपभोग गर्न सहज हुन्छ । यो सबस्टेसन सञ्चालनपछि गोरखा बजार सबस्टेसनको समेत लाइन अवरुद्ध हुने समस्या कम हुने अपेक्षा छ।
प्रतिक्रिया