काठमाडौं- स्वास्थ्य बिमा बोर्डले बीमा कार्यक्रमअन्तर्गत सेवा दिइरहेका निजी अस्पतालहरूलाई आकस्मिक उपचार आवश्यक पर्ने बिरामीको सेवा निरन्तर उपलब्ध गराउन निर्देशन दिएको छ।
वित्तीय स्रोतको अभावका कारण नियमित सेवा सीमित गरिए पनि आकस्मिक स्वास्थ्य सेवा भने अवरुद्ध नगर्न बोर्डले स्पष्ट पारेको हो।
बोर्डका वरिष्ठ मेडिकल सुपरिन्टेन्डेन्ट डा. पवनकुमार साहका अनुसार जीवनरक्षा वा तत्काल उपचार आवश्यक पर्ने अवस्थाका बिरामीलाई स्वास्थ्य बिमा सुविधाअन्तर्गत उपचार प्रदान गर्नुपर्ने व्यवस्था यथावत् रहेको छ। उनले आकस्मिक सेवाको दुरुपयोग हुन नदिन अस्पतालहरूलाई विशेष सतर्कता अपनाउन पनि आग्रह गरेका छन्।
स्वास्थ्य बीमा बोर्डले गत जेठ १६ गतेदेखि वित्तीय दायित्व व्यवस्थापनमा देखिएको चुनौतीलाई कारण देखाउँदै अर्को निर्णय नभएसम्म निजी अस्पतालबाट प्रदान गरिने आकस्मिकबाहेकका अधिकांश बीमा सेवा स्थगित गर्ने निर्णय गरेको थियो। त्यसपछि बिमित सेवाग्राही र स्वास्थ्य संस्थाबीच अन्योल उत्पन्न भएको थियो।
बोर्डले सामान्य प्रकृतिका बिरामीलाई आकस्मिक सेवाको नाममा उपचार उपलब्ध नगराउन अस्पतालहरूलाई निर्देशन दिएको छ। यस्ता गतिविधिले बीमा कोषमाथि अनावश्यक आर्थिक भार पर्ने भन्दै बोर्डले सेवा प्रवाहमा मापदण्ड कडाइका साथ पालना गर्न आग्रह गरेको छ।
साथै, सेवाग्राहीलाई पनि आवश्यक अवस्थाबाहेक स्वास्थ्य संस्था वा स्वास्थ्यकर्मीमाथि दबाब सिर्जना नगर्न अनुरोध गरिएको छ। बोर्डका अनुसार बिमा कार्यक्रमअन्तर्गत हाल ३६ वटा निजी अस्पताल आबद्ध छन्, जसले बिमित नागरिकलाई विभिन्न स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएका छन्।
बिमा बोर्डको पछिल्लो निर्णयले स्वास्थ्य बीमा कार्यक्रमको वित्तीय दिगोपनमाथि प्रश्न उठाएको छ। पछिल्ला वर्षहरूमा दाबी भुक्तानी बढ्दै जाँदा कोषमाथि दबाब बढेको छ भने अस्पतालहरूलाई भुक्तानीमा ढिलाइ हुने समस्या पनि दोहोरिँदै आएको छ।
स्वास्थ्य क्षेत्रका जानकारहरूका अनुसार आकस्मिकबाहेकका सेवा रोक्नु तत्कालीन व्यवस्थापनको उपाय भए पनि दीर्घकालीन समाधानका लागि बिमा कोषको वित्तीय संरचना, योगदान प्रणाली र सेवा व्यवस्थापनमा सुधार आवश्यक रहेको देखिन्छ। बिमा कार्यक्रमको प्रभावकारिता कायम राख्न सरकारले वित्तीय स्रोत सुनिश्चित गर्नुका साथै सेवा दुरुपयोग नियन्त्रणमा पनि ध्यान दिनुपर्ने आवश्यकता औँल्याइएको छ।
प्रतिक्रिया