+
Search

ताजा अपडेट +

पपुलर +

नीति तथा कार्यक्रम:

कृषि, शिक्षा र रोजगारलाई प्राथमिकता दिँदै पालुङटारको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठ)

आगामी वर्षको नीति तथा कार्यक्रममार्फत नगरपालिकाले कृषि उत्पादन वृद्धि, स्थानीयस्तरमै रोजगारी सिर्जना र आर्थिक गतिविधि विस्तारलाई केन्द्रमा राख्दै आत्मनिर्भर पालुङटार निर्माणको लक्ष्य सार्वजनिक गरेको छ।

पालिका लाइभ
२०८३ जेष्ठ २०, बुधबार

गोरखा– पालुङटार नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि कृषि, शिक्षा, स्वास्थ्य, रोजगार, पर्यटन र सुशासनलाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।

नगरपालिकाको १९ औँ नगरसभामा नगर प्रमुख विवश चिन्तनले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उत्पादन वृद्धि, रोजगारी सिर्जना र आत्मनिर्भर स्थानीय अर्थतन्त्र निर्माणलाई मुख्य प्राथमिकतामा राखिएको छ।

नीति तथा कार्यक्रमले कृषि क्षेत्रलाई विकासको मुख्य आधार मानेको छ।

किसानको उत्पादन वृद्धि, कृषि व्यवसायीकरण, बजार व्यवस्थापन र खाद्य सुरक्षालाई प्राथमिकतामा राख्दै ‘पालुङटार बहुउद्देश्यीय कृषि प्रवर्द्धन कार्यक्रम’लाई निरन्तरता दिने घोषणा गरिएको छ। कृषि एम्बुलेन्स सेवा विस्तार, कृषक परिचयपत्र वितरण, कृषि बीमा, शीतभण्डार सञ्चालन तथा कृषि तथा पशुपन्छी प्रयोगशाला स्थापना जस्ता कार्यक्रम पनि अघि सारिएका छन्।

शिक्षा क्षेत्रतर्फ निःशुल्क तथा अनिवार्य आधारभूत शिक्षालाई थप प्रभावकारी बनाउने, विद्यालय दिवा खाजा कार्यक्रमलाई निरन्तरता दिने, विद्यार्थीको सामूहिक दुर्घटना बीमा गर्ने तथा सूचना प्रविधिमैत्री शिक्षण प्रणाली विकास गर्ने नीति लिइएको छ।

विद्यार्थीको सिकाइ उपलब्धि सुधारसँगै मनोसामाजिक परामर्श र छात्रवृत्ति कार्यक्रमलाई पनि प्राथमिकतामा राखिएको छ।

रोजगार तथा उद्यमशीलता विकासलाई समेत नगरपालिकाले विशेष महत्त्व दिएको छ।

वैदेशिक रोजगारीबाट फर्किएका युवालाई स्वदेशमै उद्यम सञ्चालन गर्न प्रोत्साहन गर्ने, सीपमूलक तालिम सञ्चालन गर्ने तथा स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने कार्यक्रम नीति तथा कार्यक्रममा समावेश गरिएको छ। रोजगार सेवा केन्द्रमार्फत श्रम स्वीकृति, वैदेशिक रोजगारसम्बन्धी परामर्श तथा उद्यम विकासका कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।

त्यस्तै स्वास्थ्य सेवाको पहुँच विस्तार, स्वास्थ्य संस्थाको स्तरोन्नति, मातृ तथा शिशु स्वास्थ्य सुधार, पर्यटन क्षेत्रको संरक्षण र प्रवर्द्धन तथा सूचना प्रविधिमा आधारित सार्वजनिक सेवा प्रवाहलाई पनि प्राथमिकतामा राखिएको छ। नगरपालिकाले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गर्दै सुशासन र पारदर्शितालाई थप मजबुत बनाउने प्रतिबद्धता जनाएको छ।

नगरपालिकाले ‘समाजवादको आधार निर्माणको अभियान, सुन्दर र समृद्ध पालुङटार हाम्रो शान’ भन्ने मूल नारासहित उत्पादन, रोजगार, सामाजिक न्याय र नागरिकमैत्री सेवा प्रवाहलाई केन्द्रमा राखेर आगामी वर्षका कार्यक्रम कार्यान्वयन गर्ने जनाएको छ।

पूर्णपाठ

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ