+
Search

ताजा अपडेट +

पपुलर +

बन्द उद्योगदेखि रिमोट वर्कसम्म:

राजस्व संकटबीच रास्वपा सरकारको पहिलो बजेट आज, २२ खर्बको महत्वाकांक्षी योजना सार्वजनिक हुँदै

राष्ट्रिय स्रोत अनुमान समितिले दिएको १८ खर्ब ९० अर्बको सुरूवाती सीमा (सिलिङ) नाघेर अर्थमन्त्रीले करिब २१ देखि २२ खर्ब रुपैयाँको ठूलो आकारको बजेट ल्याउने तयारी गरेका छन् ।

पालिका लाइभ
२०८३ जेष्ठ १५, शुक्रबार

काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज अपराह्न ४ बजे संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारले ल्याउन लागेको यो पहिलो बजेट हो, जुन रास्वपाको ‘वाचापत्र’ लाई मुख्य मार्गचित्र मानेर तयार पारिएको छ ।

राष्ट्रिय स्रोत अनुमान समितिले दिएको १८ खर्ब ९० अर्बको सुरूवाती सीमा (सिलिङ) नाघेर अर्थमन्त्रीले करिब २१ देखि २२ खर्ब रुपैयाँको ठूलो आकारको बजेट ल्याउने तयारी गरेका छन् । चालू आर्थिक वर्षमा करिब डेढ खर्बको घाटा र न्यून राजस्व संकलनको बाबजुद जनआकांक्षा सम्बोधन गर्न सरकारले महत्वाकांक्षी लक्ष्य लिएको छ ।

यस बजेटले ७ वर्षभित्र नेपालको अर्थतन्त्रलाई १०० अर्ब डलर पुर्‍याउने र १० वर्षभित्र मध्यम आय भएको मुलुक बनाउने दीर्घकालीन लक्ष्य राखेको छ । बजेटमा सुशासन, डिजिटल नेपाल, सूचना प्रविधि र कनेक्टिभिटीलाई विशेष प्राथमिकता दिइएको छ ।

सूचना प्रविधिलाई ‘राष्ट्रिय रणनीतिक उद्योग’ घोषणा गर्दै स्टार्टअपका लागि बीउ पूँजी र युवाहरूका लागि ’रिमोट वर्क’ कार्यक्रम ल्याउने तयारी छ । त्यस्तै, बन्द उद्योगहरू पुनः सञ्चालन गर्ने र ‘लाइन होइन, अनलाइन’ मार्फत सरकारी सेवा दिने प्रतिबद्धता बजेटमा समेटिनेछ ।

प्रशासनिक सुधारतर्फ सरकारले निजामती कर्मचारीको तलब २७ देखि ५६ प्रतिशतसम्म बढाउने र कर्मचारी संयन्त्रको दलीयकरण अन्त्य गर्न ट्रेड युनियन खारेज गर्ने जस्ता कडा नीतिहरू ल्याउने सम्भावना छ ।

पूर्वाधार विकासमा सरकारी बजेटको सीमिततालाई चिर्न निजी क्षेत्रलाई सुरुङमार्ग लगायतका ठूला आयोजनामा लगानी गर्न आह्वान गरिनेछ ।

स्रोतको खाडल पूर्ति गर्न सरकारले आन्तरिक र बाह्य ऋण तथा अनुदानमा भर पर्नुपर्ने चुनौतीपूर्ण अवस्था रहे पनि यो बजेटले आर्थिक पुनर्संरचनामा जोड दिने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ