+
Search

ताजा अपडेट +

पपुलर +

सिद्धार्थ बैंकमा फेरि अर्को बदमासी, ‘ब्ल्याक लिस्टेड’ कम्पनीलाई पनि करोडौँ ऋण

पालिका लाइभ
२०८३ असार २७, शनिबार

काठमाडौं– सिद्धार्थ बैंकको मणिग्राम–लुम्बिनी शाखाले किर्ते कागजात प्रयोग गरी कालोसूचीमा रहेको कम्पनीका नाममा करोडौँ रुपैयाँ कर्जा प्रवाह गरेको आरोप लगाउँदै पीडित पक्षले निष्पक्ष छानबिनको माग गरेको छ।

सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा पीडितहरूले बैंकका केही कर्मचारी र उच्च अधिकारीको संलग्नतामा आफूहरूमाथि आर्थिक अनियमितता गरिएको दाबी गरेका हुन्।

पीडितमध्येका दिलीप ओलीले आफूले पुष्पाञ्जली एण्ड प्रालिमार्फत ५० लाख रुपैयाँको लेटर अफ क्रेडिट (एलसी) सुविधा मात्र माग गरेको भए पनि पछि आफूलाई जानकारी नै नदिई ७ करोड ५० लाख रुपैयाँको सर्ट टर्म लोन स्वीकृत गरिएको आरोप लगाए।

उनले कालोसूचीमा रहेको कम्पनीका नाममा १७ करोड रुपैयाँ कर्जा प्रवाह गरिएको, केही कर्जा धितो र सञ्चालकसमेत नभएको अवस्थामा किर्ते हस्ताक्षर तथा नक्कली कागजातका आधारमा स्वीकृत गरिएको दाबी गरे। राष्ट्र बैंकको कारबाहीबाट जोगिन आफूलाई योजनाबद्ध रूपमा प्रयोग गरिएको उनको भनाइ छ।

ओलीका अनुसार बैंकले खाता निष्क्रिय हुन सक्ने भन्दै आफूबाट खाली चेकसमेत लिएको र पछि ती चेकमा आफूखुसी विवरण भरेर आफूले नचिनेका कम्पनीहरूको खातामा रकम स्थानान्तरण गरिएको बताए। बैंक स्टेटमेन्टमा रकम कारोबार देखिए पनि आफूले कुनै हस्ताक्षर नगरेको र कुनै रकम स्थानान्तरण नगरेको उनको दाबी छ। उनले हस्ताक्षरको फरेन्सिक परीक्षण गरी सत्यतथ्य सार्वजनिक गर्न माग गरेका छन्।

पत्रकार सम्मेलनमा ओलीले सिद्धार्थ बैंकका प्रदेश प्रमुख सुशील नेपाल, तत्कालीन शाखा प्रमुख अभिषेक कुमार थापा मगर, कर्जा प्रमुख रबिन पौडेल क्षेत्री, प्रमुख कार्यकारी अधिकृत (सीईओ) रामेश्वरप्रसाद बस्याल, प्रधान कार्यालयका प्रदीप पन्थ तथा सञ्चालक समितिका अध्यक्ष राहुल अग्रवालको भूमिकामाथि पनि अनुसन्धान हुनुपर्ने बताएका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ