+
Search

ताजा अपडेट +

पपुलर +

सत्ताको स्वाद चाख्दै मालपानी :

यशोदा फुड्सका उत्पादन गुणस्तरहीन, बजारबाट फिर्ता गर्न आदेश

पालिका लाइभ
२०८३ जेष्ठ २, शनिबार

काठमाडौं– यस अघि कुनै सरकारले छुन नसकेको कमल मालपानीको कम्पनी यशोदा फुड्सका उत्पादनहरु गुणस्तरहीन ठहर गर्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पहिलो पटक बजारबाट फिर्ता उठाउन निर्देशन दिएको छ ।

विभागले विशेषगरी ‘करेन्ट’ र ‘लाली’ ब्रान्ड चाउचाउ तथा ‘ज्याक न्याक’ क्रयाकर बिस्कुटमा सरकारले तोकेको खाद्य सुरक्षा तथा गुणस्तर मापदण्ड पूरा नभएको निष्कर्ष निकाल्दै बजारबाट फिर्ता गराउन निर्देशन दिएको हाे ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको विभागले बजार अनुगमन तथा प्रयोगशाला परीक्षणका क्रममा संकलित नमुनामा गम्भीर खालका कमजोरी भेटिएको जनाएको छ। विभागका अनुसार ‘करेन्ट’ ब्रान्ड चाउचाउमा अनुमतिभन्दा बढी मात्रामा सिसा फेला परेको छ भने केही उत्पादनमा ‘एक्सट्राक्टेड फ्याटको एसिड भ्यालु’ तोकिएको मापदण्डअनुसार नभेटिएको पुष्टि भएको छ।

विभागले सार्वजनिक गरेको विवरणअनुसार रुपन्देहीको तिलोत्तमा नगरपालिका–१५ स्थित यशोदा फुड्स प्रालिद्वारा उत्पादित १०० ग्रामको ‘करेन्ट’ ब्रान्ड चाउचाउको ब्याच नम्बर ‘04A’ गुणस्तर परीक्षणमा असफल भएको हो। उक्त उत्पादनको उत्पादन मिति २०२६/०२/२३ रहेको छ र यसको उपभोग अवधि १२ महिना उल्लेख गरिएको छ।

त्यसैगरी, सोही कम्पनीले उत्पादन गरेको ५० ग्रामको ‘लाली’ ब्रान्ड चाउचाउको ब्याच नम्बर ‘02A’ मा पनि गुणस्तर समस्या देखिएको विभागले जनाएको छ। उक्त उत्पादनको उत्पादन मिति २०२६/०१/२२ रहेको उल्लेख छ।

यस्तै, एसियन बिस्कुट एन्ड कन्फेक्सनरी इन्डस्ट्रीज प्रालिद्वारा उत्पादित ‘ज्याक न्याक’ क्रयाकर बिस्कुटको ७५ ग्राम प्याकेट, ब्याच नम्बर ‘6’ ले समेत सरकारले तोकेको खाद्य मापदण्ड पूरा नगरेको विभागले जनाएको छ।

विभागले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३८(२) अनुसार ती उत्पादन तत्काल बजारबाट फिर्ता गर्न आदेश दिएको छ। साथै दफा ३८(४) अनुसार सम्बन्धित उद्योग, वितरक तथा विक्रेतालाई उक्त ब्याचका सम्पूर्ण उत्पादन बिक्री वितरण नगर्न र नगराउन निर्देशन दिइएको छ।

विभागले उपभोक्तालाई पनि ती उत्पादन खरिद तथा उपभोग नगर्न आग्रह गरेको छ। यदि बजारमा त्यस्ता उत्पादन भेटिएमा नजिकको सम्बन्धित निकाय वा विभागलाई जानकारी गराउन अनुरोध गरिएको छ।

खाद्य सुरक्षासम्बन्धी नियमित अनुगमन र प्रयोगशाला परीक्षणका क्रममा यी उत्पादनमा मापदण्ड विपरीत अवस्था भेटिएको विभागले जनाएको छ। विभागका अधिकारीहरूका अनुसार तयारी खाद्य पदार्थमा देखिएको यस्तो लापरबाहीले उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पार्न सक्ने भएकाले निगरानी थप कडा बनाइनेछ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ