काठमाडौं– सभामुख डीपी आर्यलले आसन ग्रहण र भाषणमा भन्दा देश निर्माणका काममा केन्द्रित हुनुपर्ने बताएका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै हरेक नेपालीले आफ्नो सरकार भएको महसुस गर्न पाउनुपर्ने बताए।
छोराछोरी विदेश जाने क्रम रोकिनुपर्ने र स्वदेशमै रोजगारी सिर्जना हुनुपर्ने, खानेपानी, विद्युत् र इन्टरनेटको पहुँच सबै पालिका र नागरिकसम्म पुर्याउन सरकार प्रतिबद्ध रहेको रहेको बताए। रोकिएका २६ लाख ड्राइभिङ लाइसेन्स ७४ दिनभित्र घरघरमा पुर्याउने र अब ट्रायल पास गरेको २४ घण्टाभित्रै लाइसेन्स उपलब्ध गराउने काम भइरहेको समेत बताए।
उनले भने, ‘कम्तीमा दुई वर्षसम्म सबैले सकारात्मक सोच्ने, बोल्ने र लेख्ने हो भने देशको प्रणालीमा सुधार आउने उहाँको विश्वास छ। मिडियाले पनि नकारात्मक समाचारलाई मात्र प्राथमिकता नदिई समाजमा भइरहेका राम्रा कामहरूलाई स्थान दिनुपर्छ।’
राजनीतिलाई फोहोरी खेल भनिए पनि यसलाई सफा गर्ने जिम्मेवारी जनप्रतिनिधिहरूकै भएको बताए। निर्वाचनको समयमा पार्टीको भए पनि चुनिएपछि सबै जनताको साझा प्रतिनिधि भएर काम गर्नुपर्नेमा उनले बताए।
उनले भने, ‘राजनीतिलाई सफा गर्ने जिम्मेवारी पनि हाम्रै हो। फोहोर गराउने पनि हामीहरू नै हौँ भने त्यो सफा गर्ने जिम्मेवारी पनि हाम्रै हो। आज निर्माण भएको सरकार अब रास्वपाको होइन। अब यो सरकार जनताको हुनुपर्छ। जनताले त्यो महसुस गर्न पाउनुपर्छ।
अस्पतालमा बेड पाउन वा स्कुल भर्ना हुन सांसद खोज्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताए।’
सभामुखको हैसियतले देशका पुराना कानुनहरू संशोधन गर्ने र आवश्यक नयाँ कानुनहरू छिटो निर्माण गर्न आफू निष्पक्ष र तटस्थ भएर लाग्ने प्रतिबद्धता व्यक्त गरे। नागरिकको हित र राष्ट्रियतालाई केन्द्रमा राखेर कानुन निर्माण गरिने बताए।
प्रतिक्रिया